पूर्वप्रधानन्यायाधीश शर्माको शोकमा आज देशभरका अदालत बन्द रहने
प्रकाशित मिति : 23 January, 2022 8:49 am
काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएका छन्। शनिबार बसेको सर्वोच्चको आकस्मिक बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको बुधबार निधन भएको थियो । विदेशमा रहेका उनका परिवारका सदस्य आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको थियो ।
वि.स २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा २०५४ चैत ३० देखि २०५६ मङ्सिर ३० सम्म प्रधानन्यायाधीश रहेका थिए ।
शर्माको निधनमा शोक मनाउन आज माघ ९ गते देशभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रूपमा बन्द रहने छन् ।








