२९ बैशाख २०८१, शनिबार

‘ट्याटु क्षेत्र गलत हैन, यो त सुन्दर कला हो’

प्रकाशित मिति :  31 January, 2022 2:06 pm


अनिल सापकोटा । 

सिन्धुली दुधौलीका सन्दिप लामा चित्र कोर्न अब्बल थिए । सुन्दर चित्र कोर्ने सन्दिपलाई विद्यालयले ठाउँठाउँमा प्रतिस्पर्धामा पठाउँथ्यो । ती दिन सम्झँदै सन्दिपले भने,“सरहरूले त मलाई कहाँ–कहाँ पठाउने चित्रकला प्रतियोगितमा भाग लिन, मैले पनि दामी चित्र बनाउने नि ।”

सन्दिपले चित्रकलालाई निरन्तरता दिएनन् । पढ्न काठमाडौं छिरेका उनले स्नातक तह पार गर्न सकेनन् । कुराकानीकै क्रममा भने,“म त बिग्रेको नि, सबै त नभनौँ तर म बिग्रेकै हो नि ।”

सन्दिपको ध्यान चित्रकलापछि संगीततिर मोडिएको थियो । मनमा केही गरौं भन्ने इच्छा पनि जागेपछि व्यवसायी बन्ने प्रयास गरे । उनको इच्छाअनुसार परिवारले लगानी गरिदिएपछि काठमाडौंको बानेश्वरमा गितारको पसल खोलेका थिए । पसल सञ्चालन गरे पनि सन्दिप ‘फर्म’मा थिएनन् । उनी साथीभाइसँग बहकिएर हिँड्थे । पसलबाट आएको रकमसमेत उनले साथीभाइसँग घुमेर सिध्याइ दिन्थे ।

गितारको पसलले उँभो लगाएन । उल्टो घाटामा गएपछि तनाव हुन थाल्यो । एकातिर परिवारसँग सम्बन्ध बिग्रियो, अर्कोतिर पसल चल्दैन । उनी गितारको तारझैँ झनझनाएर हिँड्थे ।

सन्दिपले टक्सार टिमलाई सुनाइरहेका थिए, “साँच्चै मेरो त बिजोगजस्तै भाको थियो नि, पसल राखेको घरको भाडा कसरी तिर्ने भन्नेमै तनाव भयो, म पनि बिग्रेँ, परिवारले पनि घरबाट निकाल्देको थियो ।”

घरपरिवारले बिग्रेको भनेर घरबाट निकालिदिए । सन्दिपले बिना हिचकिचाहट भने, “१९/२० वर्षको उमेको हुँदा त बाउआमाले मलाई बिग्रेको भनेर निकालिदिए ।” परिवारले समेत हात छोडिदिएपछि काठमाडौंमा उनका कष्टकर जीवन सुरु भयो । उनले ती दिन सम्झिँदै भने “गितार पसल खोलेपछि सँधै बा–आमाले पैसा दिनु हुन्न नि त । धेरै खर्च हुन्छ ।

सामानहरू ल्याउनु पर्ने हुन्छ । त्यतिखेर म अलिकति बिग्रेको पनि थिएँ । पैसा सबै यताउता गरेर सकाउँथेँ । त्यति खेरसम्म मैले बा आमाको मन जित्न सकेको थिएन । मेरो व्यवसायका कारण जहिले पनि घरमा झगडा हुन थाल्यो । त्यसपछि एकदिन मलाई घरबाट निकालिदिनु भएको हो । त्यसपछि म भौंतारिएँ ।”

अनि, बाटो मोडियो 

दैनिक जीवन नै बिग्रेको महसुस गरेपछि सन्दिपको दिमागमा पु¥यो कि,“म त राम्रो चित्र पो बनाउँछु त !” केही ट्याटु बनाउने साथीको संगतमा थिए उनी । उनले भने, “ट्याटु पनि आफैमा एउटा कला हो ।

कलमले कोर्ने चित्रको सीप ट्याटुमा लगाउन सकिन्छ कि भन्ने विचार आयो, वास्तवमा मलाई विद्यालयमा राम्रो चित्र बनाउन आउँथ्यो, ट्याटुमा पनि यो काम लाग्न सक्छ भनेर साथीसँग कुरा पनि गरेँ ।”

उनले पहिलो पटक बनाएको ट्याटु नै व्यावसायिक मान्छेले बनाएको जस्तो भयो । सन्दिपले पहिलो ट्याटु सम्झँदै भने, “मैले बनाएको ट्याटु त प्रोफेसनल आर्टिस्टले बनाएको जस्तो भयो अनि मनमा विश्वास पलायो कि म यस क्षेत्रमा केही गर्छु ।” अब विद्यालय अध्ययनका क्रममा देखिएको चित्रकलाको क्षमता र ट्याटुबीच तालमेल मिल्यो । उनले चिनेको साथीसँग ट्याटु बनाउने मेसिन थियो ।

उनले व्यावसायिक रूपमा काम गर्नका लागि सहयोग मागे तर पाएनन् । उनले भने, “एकजना साथीसँग मेसिनहरू थियो । मैले उसलाई गर्दिनु भनेर रिक्वेस्ट गरेको थिए तर उसले गरेन त्यसपछि ठिकै छ भनेर म पनि गर्छु म आपैm मेसिनहरू किनेर म आपैm प्रयास गर्छु भनेर थालेको हो ।”

सन्दिपको बिग्रिएको जीवन ट्याटु खोप्न थालेपछि सम्हालिन थालेको थियो । उनीमा आत्मविश्वास पलाउन थालेको थियो तर सुरुमै भनेजस्तो भएको थिएन । उनको सम्झना अनुसार सन् २०१३ देखि ट्याटुमा आफ्नो भविष्य खोज्न सुरु गरेका थिए । केही समयको अभ्यासले ट्याटु क्षेत्रलाई नै सन्दिपले ‘ड्रिम’ बनाउन थाले ।

गितार पसलबाटै परिवारसँगको सम्बन्ध बिग्रिसकेको थियो । फेरि ट्याटु क्षेत्रमा लागेको थाहा पाएपछि परिवारले अझै सकारात्मक रूपले हेर्न सकनेन् । झन् ट्यापे हुने भयो भनेर परिवारले टिप्पणी ग¥यो । उनी ट्याटु क्षेत्रमा लागेपछि सुरुका दिनहरू सम्झन्छन्, “पहिले त ‘नेगेटिभ रेस्पोन्स’ आएको थियो । ट्यापे हुने भयो भनेर घरमा भन्नु भएको थियो । मैले गरेर देखाएँ । बुवा आमाको मन जित्न सकेँ, मैले । हाम्रो बुवा आमा पुरानै सोचको हुनुहुन्छ । अहिले त राम्रै मान्नुहुन्छ ।”

अप्ठेरा सुरुका दिन 

उनले गितार पसल खोलेकै ठाउँ पुरानो बानेश्वर सेतोपुल नजिकै ट्याटु हाउस खोले । सुरुमै चल्ने अवस्था थिएन भने परिवारले पनि साथ दिइरहेको थिएन । उनले आफ्नो ‘ड्रिम’ बचाउन अनेक उपाय लगाए ।

“जस्तोसुकै परिस्थितिमा पनि हार कहिल्यै पनि मान्दिन भन्ने एउटा मेरो एउटा बलियो पक्ष थियो । मैले चाहेको भए त्यतिखेर पसल बेचेर हिँड्थें । बेचेर सटरभाडा निकाल्न सक्थें । तर मैले त्यसो गरिन, पसल चलाएर जति आउँछ, त्यसबाट पनि खर्च मिलाउँछु, अनि अरु के के उपाय छ भनेर लागेँ,” उनले भने, “पसलको भाडा त जोगाउनु प-यो नि । पसल बन्द गरेर अरू ठाउँमा काम गर्न गएँ । विभिन्न काम गरेँ । के–के गरेँ, त्यो भन्न चाहन्न तर एकदम तलको कामहरू गरेँ मैले । यो मैले मेरो सपनालाई बचाउन गरेको थिएँ ।”

उनको लगावले ट्याटु हाउस बिस्तारै उँभो लाग्न थाल्यो । पछिल्लो ६–७ वर्षको बीचमा उनी उत्साहित बनेका छन् । आफ्नै ट्याटु हाउसकै अन्य ४ ठाउँ नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल अनि बौद्धमा आउटलेट खोलेका छन् । ट्याटुसँग सम्बन्धित सामानहरूसमेत आपूर्ति गर्छन् ।

ट्याटु हाउसले अब उनको परिवारसँग टुटेको सम्बन्ध जोडेको छ, काठमाडौंमा बहिनीलाई पढाउँछन् । परिवारलाई खर्च पठाउँछन् र आफ्नो स्टाइलको जीवन बिताउँछन् ।

ट्याटु खोपेको मूल्य ४ हजारबाट सुरु हुन्छ र अधिकतम साढे २ लाख रुपैयाँसमेत आफूले लिएको सुनाउँछन् । सन्दिप आफ्नो कमाइबारे त्यति खुल्न चोहनन् तर कूटनीतिक रूपमा जवाफ दिँदै भने, “यो क्षेत्रमा लागेको आर्टिस्ट जो नयाँ छ उसले पनि महिनाको ८०–९० हजार रुपैयाँ सजिलै कमाउने गर्छ ।”

उनले अझै जोड दिँदै भने, “के डाक्टर ? के इन्जिनियर ? वा नेपालमा धेरै पैसा कमाउने पेसा अन्य कुनै होस्, त्योभन्दा ट्याटु आर्टिस्टले कमाउन सक्छ, एउटै ट्याटुको ७–८ लाख रुपैयाँसम्म हुन्छ, राम्रो आर्टिस्टको कामाइ कति हुन्छ सहजै बुझ्न सक्नुहुन्छ ।”

मर्यादित पेसा बनाउने प्रयास

ट्याटु आफैमा एउटा कला हो तर यो इज्जतिलो र मर्यादित बन्न नसकेको सन्दिपको अनुभव छ । सन्दिपले सुनाए– “यसलाई पूरै हेपेर नकारात्मक ढंगले ट्यापेको क्षेत्र हो भन्छन् तर त्यसो होइन यो आफैमा एउटा सुन्दर कला हो, सीप हो ।”

ट्याटुको झण्डै १२ हजार वर्ष पुरानो इतिहास भएको मानिन्छ । तर कतिपय मुलुकले अपराधीहरूलाई अंकित गर्न ट्याटु खोप्ने वा ट्याटु खोपेर छाड्न थालेपछि यो कला बदनाम भएको सन्दिपको बुझाइ थियो । उनले भने, “ट्याटु नेपालको मान्छेले किन बुझेनभन्दा पहिला बाहिरी देशहरूमा अपराधीहरूलाई अंकित गर्नका लागि वा बुझाउनको लागि ट्याटु हान्दिने अथवा नम्बर हान्दिन्थ्यो, नेपालीले त्यो मात्र बुझ्याे ।”

तर नेपालमै पनि प्राचिन समयदेखि नै यो प्रयोगमा रहे पनि चर्चा नभएको सन्दिपको बुझाइ थियो । उनले भने,“ कतिपय जाति–क्षेत्रको त ट्याटु संस्कृति हो तर यसप्रतिको हेराइ नै नेपालमा नकारात्मक भयो ।”

ट्याटु खोप्नेले पनि शरिरमा मनपर्दी खोपेका कारण यो क्षेत्रप्रतिको धारणा गलत बन्न पुगेको सन्दिपको भनाइ थियो । उनले भने, “आर्टिस्ट भएँ भन्दैमा मैले बाटो बिराउनु भएन । मेरो प्रोफेसन हो नि । मैले अनुहारभरि चिरेर खोपेर देखाउनु पर्दैन । मान्छेहरूको देख्न सकिन्छ कसैको के हुन्छ–कसैको के हुन्छ । कसैले जिब्रो काटेको हुन्छ कसैले नाक ठूल्ठूलो छेडेको हुन्छ, कसैको कान छेडेको हुन्छ । आप्नो शरीर नै बिग्रने गरि छेडेको हुन्छ । यसलाई मान्छेले राम्रो मान्दैन नि ।”

बदलिँदै धारणा

ट्याटु क्षेत्रले सन्दिपको जीवनमा बदलाव भएको छ भने बिस्तारै यस क्षेत्रप्रतिको आमधारणा पनि बदलिँदै गएको उनको भनाइ थियो । उत्साहित हुँदै सन्दिपले भने,“ट्याटु खोप्न राम्रो–राम्रो मान्छे आउनु हुन्छ, अहिले बुझ्नु भएको छ– ट्याटु भनेको कला न हो । त्यही भएर नै आउनु हुन्छ । सबैको धारणा त बदलिँएको छैन तर धारणा परिवर्तन भएको महसुस हुन्छ ।

नेपालमा ट्याटु व्यवसायमा झन्डै ५ देखि ६ हजार मानिस संलग्न रहेको अनुमान छ । ५–६ सय जना नाम चलेका आर्टिष्ट छन् । सबै आर्टिस्टलाई एकठाउँमा जुटाउन सन्दिपले एप सञ्चालनमा ल्याएका छन् । जसमा आर्टिस्टहरूले ट्याटुको डिजाइन, क्याटलग हालेर आफ्नो प्रचार गर्न सक्छन् । एपमा सेवाग्राहीले आफ्नो खाता खोलेर लिस्ट हेर्न सक्छन् अनि आफूलाई मन पर्ने ट्याटु छानेर मन परेको आर्टिस्टसँग समय लिन सक्छन् ।

ट्याटु व्यवसाय सिधै स्वास्थ्यसँग जोडिएको विषय हो त्यसैले संवेदनशील विषय पनि हो । सन्दिपले भने, “यो त छालामा खोप्नुपर्छ, स्वास्थ्यसँग जोडिएको विषय हो यो तर सरकारी निकाय कसैलाई मतलब छैन ।”

उनी मनपर्दी ट्याटु खोपिदिने काम गर्दैनन् । ग्राहकलाई सम्झाउँछन् र सकेसम्म सुन्दर अनि उत्कृष्ट हुने गरी ट्याटु खोप्न सल्लाह दिन्छन् । स्वास्थ्यसँग विषय भएकाले पहिला सबै जानकारी लिन्छन् । उनले भने,“ट्याटु खोप्नुभन्दा पहिले कुनै रोग छ कि छैन जानकारी लिन्छु, विभिन्न रोग हुन सक्छ । प्रेसर हाई हुन सक्छ । अथवा, सुगर हाइ हुन सक्छ । ट्याटु गर्दा बेहोस भयो भने त नराम्रो हुन्छ । सानो ट्याटुको लागि पनि २–३ घण्टा लाग्छ । त्यो सबै भित्रमा केही भइदियो भने त हामीलाई गाल आउँछ । त्यसको लागि पहिले आफूले बुझेर सानो फर्म भर्न लगाउँछु ।”

उनले सरकारले ट्याटु व्यवसायलाई नियमन गर्नुपर्नेमा जोड दिए । सन्दिपले भने, “हामीले सिधै छालामा काम गर्नुपर्ने हुन्छ । ट्याटु भनेको घाउ नै हो । सरकारले यतिको तहले यो गर्न पाउँछ भनिदियो वा अनुमतिपत्रको व्यवस्थापन ग-यो भने ट्याटु क्षेत्र थप व्यावसायिक र मर्यादित बन्छ ।”

उनले ट्याटुलाई व्यवस्थित बनाउने भए आर्टिस्ट पनि सचेत हुनुपर्ने बताए । सन्दिपको गुनासो थियो, “ट्याटु भनेको सजिलो रूपमा लिन थालियो, जहाँ पनि पसल खोलिदिने, जस्तो पनि खोली दिने । तर व्यवस्थति नगर्नेले यो क्षेत्रलाई ‘डाउन’ गर्न लागेको जस्तो लाग्छ । व्यावसायिक नबनेर, कुनै पनि क्षेत्रमा राम्रो भयो भने न बढ्ने हो ।”

सन्दिपको पटक पटकको जोड थियो, ट्याटु क्षेत्रलाई नेतृत्व गर्ने र यो व्यवसायलाई मर्यादित बनाउने । नेपालमा कराडौं रुपैयाँको ट्याटुको कारोबार हुन्छ । यो स्वास्थ्य अनि सीप क्षेत्रसँग जोडिएको भएकाले यसलाई उनी नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छन् ।

उनले भने,“मलाई के लाग्छ भने, म यस क्षेत्रलाई नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास छ, त्यसैले व्यवसायमा पनि केही आधार तयार गरेको छु र यो क्षेत्रको अब नयाँ ढंगले नेतृत्व गर्न चाहन्छु ।”

(टक्सार म्यागजिन, पुस २०७८ मा प्रकाशित)



प्रतिक्रिया दिनुहोस !