७ जेष्ठ २०८१, सोमबार

भरतपुर महानगरपालिकाकाे मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान  सुरु

प्रकाशित मिति :  3 February, 2022 12:37 pm


िचतवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान  सुरु गरिएको छ ।  भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।

अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३  बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित  रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो 

अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भने, “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई  उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।” महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ । 

 उनले भने, “अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो ।” अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताए । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु  गरिएको जानकारी दिए ।  हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । 

चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलब १३ किमीम ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८  सडक बत्ती जडान हुने छ  । यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उनको भनाइ छ । रासस

 



प्रतिक्रिया दिनुहोस !