१९ बैशाख २०८३, शनिबार

सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभाग,त्रिविविबीच अध्ययन तथा अनुसन्धान गर्ने समझादारी 

प्रकाशित मिति :  17 February, 2022 6:13 pm


काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी समझादारी पत्रमा हस्ताक्षर भएको छ ।

सिबिफिनको कार्यालय,सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागकोतर्फबाट विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझादारी पत्रमा उल्लेख गरिए अनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नात्तकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीहरूमध्ये छनोट भएका विद्यार्थीहरुले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी “सिबिफिन फेलोसिप” प्रदान गरिने भएको छ ।

तर, उक्त फेलोसिप अन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।

त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनकोतर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रीय विभागकोतर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंककोतर्फबाट एक÷एक जना उच्च पदस्थ अधिकारी रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अगाडि बढाउने जनाइएको छ ।

सिबिफिनले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्र तथा विषयवस्तुमा बार्षिक कम्तिमा २ वटा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र उक्त अध्ययन तथा प्रतिवेदन तर्जुमा वा प्रकाशित गर्दा लाग्ने खर्च सिबिफिनले व्यहोर्ने समझादारीमा उल्लेख गरिएको छ ।

साथै, सिबिफिनको व्यवस्थापन र अर्थशास्त्र केन्द्रिय विभागको सहयोगमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण,आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा अन्तरक्रिया एवं कार्यशाला गोष्ठी आयोजना गरिने समझादारी पत्रमा उल्लेख गरिएको छ ।

अध्ययन तथा अनुसन्धानका सम्भावित क्षेत्रहरुमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सिबिफिनको सहयोग एवं योगदान, बैंक तथा वित्तीय क्षेत्रबाट विविध क्षेत्रमा गरिएकोे लगानी, त्यसको प्रतिफल र योगदान, बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नती, वित्तीय साक्षरता एवं पहुँच, डिजीटल बैंकिङ, विद्युतीय भुक्तानी, विदेशी विनीमय नीति, आफ्नै देश सुहाउँदो भुक्तानी प्रणालीको विकास, बैंक तथा वित्तीय संस्थाहरुको संचालनमा प्रत्यक्ष प्रभाव पार्ने व्याजदर तथा सेवा शुल्क, पूँजी निर्माण, पूँजी बजारको विकास, लगानीका नयाँ–नयाँ क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास, स्वदेशी उत्पादन र उपभोगसहित आत्मनिर्भर अर्थतन्त्रको निर्माण, मौजुदा नीतिहरुको प्रभावकारीता र सुधार सम्बन्धी अध्ययन तथा सुझाव तर्जुमासहित गरिबी, असमानता, बेरोजगारी जस्ता जल्दाबल्दा विषयहरु तोकिएको छ ।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले भने,“सिबिफिनको मुख्य उद्देश्य नै सरोकारवाला निकाय र पक्षहरुसँग सहकार्य गरी नीतिगत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नियामक निकायमा पेश गरी कार्यान्वयनका लागि पहल गर्नु र राष्ट्र एवं जनताको हित एवं संमृद्धिका विषयमा नियामक निकाय र सरोकारवाला पक्षहरुसँग सहकार्य गरी अगाडि बढ्नु हो । त्यसैले यस्ता कार्यहरुमा सिबिफिन निरन्तर लागिरहनेछ ।”

त्यसैगरी अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले नेपालको शैक्षिक क्षेत्रलाई अध्ययनबाट अनुसन्धान केन्द्रमा स्थापित गर्न सिबिफिनले थालेको यस्ता महत्वपूर्ण पहलको प्रसंशा गर्दै आभार व्यक्त गरे ।

नीतिगत अध्ययन तथा अनुसन्धानका लागि सहकार्य गर्नका लागि समझादारी पत्रमा उठान गरिएका विषयहरु अत्यन्तै सान्दर्भिक रहेकोले विभागले उक्त कार्यमा सहमती जनाइ समझादारी गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !