१२ श्रावण २०८१, शनिबार

रूपन्देहीमा सोलारबाट ८.५ मेगावाट बिजुली उत्पादन अन्तिम चरणमा

प्रकाशित मिति :  15 March, 2020 10:17 am


रूपन्देही, २ चैत ।  निजी कम्पनीले सोलार प्लान्टबाट ८ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन अन्तिम चरणमा पुर्‍याएको छ । तिलोत्तमा नगरपालिका–६ पुरानो सडक नजिक २६ बिघा जमिनमा रिडी हाइड्रो पावर कम्पनीले ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टमार्फत विद्युत् उत्पादन गर्न लागेको हो ।

सोलार ऊर्जाबाट विद्युत् निकाली राष्ट्रिय ग्रिडमा जोड्न लागेको यो निजी क्षेत्रकै ठूलो व्यावसायिक उत्पादन हो । सरकारी क्षेत्रबाट विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको ग्रिडमा आबद्ध सोलार आयोजनामा काम गरिरहेको छ । त्यसले पनि वैशाखभित्रै १५ मेगावाट उत्पादन गर्ने तयारी गरेको छ । बाँकी १० मेगावाटको काम सुरु गर्दै छ ।
कम्पनीले उत्पादन गरेको बिजुली विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । कम्पनीले ३ सय ३० वाट सोलार ऊर्जा क्षमताका ३२ हजार पातामार्फत उत्पादन गरेको बिजुली शुद्धोधन गाउँपालिकास्थित विद्युत् सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !