२७ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमको वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति :  7 April, 2022 6:45 pm


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा विहिबार सम्पन्न गरेको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पु¥याउने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८÷७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले शेयरधनीको विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।

उनले भने,“आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीले कर तथा गैर कर वापत आफ्नो कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैँया राजस्व दाखिला गरेको छ ।”

स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको छ । मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको अर्यालले बताए ।



प्रतिक्रिया दिनुहोस !