६ जेष्ठ २०८१, आइतबार

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, प्रवेश शुल्क एक रुपैँया

प्रकाशित मिति :  12 April, 2022 8:12 am


काठमाडौं । आगामी २०७९ साल बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ६ दिन आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी को २७ औं संस्करण यसअघि कोभिड–१९ का कारण २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने भएको छ । गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको आयोजकले जनाएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सह(प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

विगतका वर्षहरूमा साधारणतया पुसरमाघरफाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनीको समेत ब्यबस्था हुन भएको आयोजकले जनाएको छ । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको हो ।

क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा लिएको छ ।

यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था हुने आयोजकले जनाएको । यसपटक प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको र उक्त प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !