२२ बैशाख २०८१, शनिबार

रामेछापमा पहिलोपटक जुनारको बीमा

प्रकाशित मिति :  24 April, 2022 2:11 pm


रामेछाप। रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ ।

सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि नेपालमा कृषि बीमा प्रारम्भ भएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले रामेछाप जिल्लाका किसानको जुनार खेतीमा बीमा गरिदिएको हो । आर्थिक वर्ष २०७७/०७८ मा नेपालभर रु ११ करोड ३४ लाख अनुदान उपलब्ध गराइएको छ ।

रामेछाप जुनारको पकेट क्षेत्र हो । परियोजनाले आइएमइ जनरल यन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका–६ पुरानागाउँका तीन कसानको ६०० बोट जुनारको बीमा गरी किसानको बगैँचामा लगेर बीमा लेख हस्तान्तरण गरेको हो । बीमा गर्नुअघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाइ प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था गरिएको जानकारी दिए ।

बीमामार्फत आगलागी, चट्याङ भूकम्प, अधिक वर्ष बाढी, पहिरो खडेरी आँधी, बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने र नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी हुने आइएमइ जनरल इन्स्योरेन्स जिल्ला प्रमुख विपिन भट्टराईले बताए । रासस



प्रतिक्रिया दिनुहोस !