७ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पतालमा बिहान ७ बजेदेखि ओपिडी सेवा सुरु

प्रकाशित मिति :  23 May, 2022 11:05 am


चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो ।

उनका अनुसार बिहान ८ः३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेबाट सुरु हुनेछ ।

यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२ः३० बजेसम्म खुल्ने छ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने ९ः३० बजेदेखि ३ः३० बजेसम्म हुनेछ ।

अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !