यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल’ पुरस्कार घोषणा
काठमाडौं । यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’–डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ ।
दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कार विजेता दुवै संस्थालाई जुन ८, २०२२ (जेठ २५, २०७९) मा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा प्रत्येकलाई २ लाख ५० हजार राशिसहित पुरस्कार प्रदान गरिने छ ।
यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।








