किसानहरुको जीवनमा अनुभूति हुने गरि परिर्वतन ल्याउन अखिल नेपाल किसान महासंघको माग
काठमाडौँ । नेपाली किसानहरुको जीवन र जीविकामा प्रत्यक्ष अनुभूति हुनेगरी परिवर्तन ल्याउने गरी नेपाल सरकारले नीति तथा कार्यक्रम बनाउन र बजेट बिनियोजन गर्न अखिल नेपाल किसान महासंघ (अखिल क्रान्तिकारी) का अध्यक्ष चित्र बहादुर श्रेष्ठले माग गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) ले नेपालका उत्पादक किसानहरु, भूमिहीन तथा सकुम्बासीहरु र कृषि मजदुरहरुको हक, हित, अधिकारका लागि निरन्तर रुपमा आवाज उठाउदै आएको श्रेष्ठको भनाइ छ ।
उनले भने, “२००७ सालदेखि हालसम्म पटक पटक विभिन्न परिवर्तन हुँदा र दश वर्षे महान् जनयुद्ध तथा दोस्रो ऐतिहासिक जनआन्दोलनको बलमा देश गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक र समावेशीकरणको युगमा प्रवेश गर्दा पनि देशको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको जीवनमा कुनै उल्लेख्य परिवर्तन हुन नसकेको यथार्थ रहेको छ । ’’
आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेट तयारी गरेको र वर्तमान परिप्रेक्ष्यमा नेपाली किसानहरुको वर्गीकरण गरी परिचय पत्र वितरण गरेर परिचय पत्रका आधारमा वास्तविक किसानहरुलाई सेवा, सुविधा, अनुदान, कृषि ऋण र विमा लगायतका सुविधा प्रदान गर्न श्रेष्ठले जोड दिए ।
नेपाली कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन, उत्पादन र स्वामित्वका आधारमा किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषि अनुदानमा भएको भ्रष्टाचारको अन्त्य गर्न, समयमा किसानलाई आवश्यक गुणस्तरीय बिउबिजन र मलखाद उपलब्ध गराउन, कृषि वन र जडिबुटी खेतीलाई उच्च प्राथमिकता दिन, सिँचाइको व्यवस्था गर्न र बिउबिजनमा आत्मनिर्भर बनाउन पहल गर्न श्रेष्ठले आग्रह गरे ।








