मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु स्याङ्जाको सडकमा प्रर्दशन
स्याङ्जा । अनेरास्ववियु स्याङ्जाले मूल्य वृद्धिको विरोधमा सडकमा प्रर्दशन गरेको छ ।
ग्याँस, पेट्रोलियम प्रदार्थलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले सडकमा मूल्य वृद्धि फिर्ता गर, घाटा नाफा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ लगायतका प्लेकार्डसहित सडकमा प्रर्दशन गरेका हुन् ।
गठबन्धन सरकाले दैनिक जीवन नै कष्टकर बनाउने गरी मूल्य वृद्धि गरेको भन्दै यसका विरुद्ध चोकचोकबाट हुदै देशभर नै अनेरास्ववियुले विरोध गरेको जिल्ला अनेरास्ववियुका अध्यक्ष सगुन रानाले बताए ।
पटक पटक गरिएको मूल्य वृद्धिले गरिब जनताहरुलाई चुल्हो बाल्न समेत समस्या भएको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिएर सहज बनाउनपर्ने रानाको भनाइ छ ।
अनेरास्ववियु स्याङजाले प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाई ध्यानार्कषण पत्र समेत पठाएको छ । विद्यार्थीहरुले सडकमै दाउरामा खाना पकाएर मूल्य वृद्धिको विरोध गरेका थिए ।








