७ बैशाख २०८१, शुक्रबार

बालविवाह न्यूनिकरणका लागि घरपरिवारमा सचेतना

प्रकाशित मिति :  23 June, 2022 5:57 pm



उमा केसी

“बालविवाह न्यूनिकरणका लागि घरपरिवार,समुदाय देखी सचेतना अभियान चलाईने छ । बालविवाह न्यूनिकरण सम्बन्धी पञ्चवर्षीय रणनीतिक योजनालाई कार्यान्वयनमा ल्याईने छ,” रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको नीति तथा कार्यक्रममा बालविवाह न्यूनिकरणको विषयमा उल्लेख गरेको विषय हो यो ।

उल्लेखित नीति तथा कार्यक्रम कार्यन्वयनका लागि नगरपालिकाले बालविवाह न्यूनिकरण अभियान अन्तरर्गत विद्यालय स्तरीय कार्यक्रमका लागि भन्दै ४ लाख ५० हजार वजेट विनियोजन गरेको छ ।

बालवालिका शिर्षकमा छुट्याएको उक्त बजेटमा बालविवाह न्यूनिकरणलाई सहयोग गर्ने गरि अन्य कार्यक्रम पनि तर्जुमा गरिएको छ । यसका लागि नगरपालिकाले थप ३ लाख ५० हजारसहित बालबालिका शिर्षकमा नगरपालिकाले चालू आर्थिक वर्षका लागि कुल रु. ८ लाख बजेट विनियोजन गरेको छ । यसका अतिरिक्त वडाहरूले पनि आफूले प्राप्त गरेको बजेट मध्ये केही बजेट महिला तथा बालबालिका शिर्षकमा बालविवाह न्यूनिकरणलाई जोड दिने गरि विनियोजन गरेका छन् ।

कुनै समय बालविवाहलाई रोल्पामा वास्ता नगरिएको सामाजिक मुद्धाको रुपमालिने गरिन्थ्यो । कसैको पनि प्राथमिकतामा यो मुद्दा पर्न सकेको थिएन । विकास भनेकै भौतिक विकास हो भन्ने बुझाई थियो । सडक, खानेपानी, विद्युत, सिंचाई जस्ता विकास मात्रै प्राथमिकताको सूचीमा पर्ने गर्दथे । शिक्षा, स्वास्थ्य,सञ्चार,वातावरण संरक्षण,गरिवी निवारणलाई कम प्राथमिकतामा राखिन्थ्यो । बालविवाह, सम्वन्ध विच्छेद तथा आत्महत्याले जर्जर रोल्पामा यी मुद्दा भने प्राथमिकतामा परेका थिएनन् ।

वास्ता नगरिएका भनिएका यी मुद्दा पछिल्ला दिनमा सबैको प्राथमिकताको सूचीमा देखिन थालेका छन् । खासगरि पहिलो स्थानीयतहको निर्वाचनद्धारा निर्वाचितजन प्रतिनिधिहरूले यसको गाम्भिर्यता बुझेसंगै यी मुद्दाले ठाउँ लिन थालेका हुन् ।

स्थानीय सरकारहरू बालविवाहलाई मुख्य समस्याको रुपमा किटान गर्दै यसले समग्र विकास गतिविधिलाई अवरोध गरिरहेको निश्कर्षमा पुगेका छन् । यसको न्यूनिकरणका लागि उनीहरूले वजेट नीति तथा कार्यक्रम वनाउन तयार देखिएसंगै यो मुद्दा न्यूनिकरणमा आशा पलाएको छ ।

यस्तो थियो बालविवाहमा रोल्पाको विगत

केहीवर्ष अघिको सन्दर्भ हो, रोल्पाजिल्लामा एक वर्ष भरि रोल्पा अस्पतालमा ३ सय ५४ जनाले प्रसुति सेवा लिएका थिए । यसरी प्रसुति हुने मध्ये २० वर्ष मुनीका ५६ किशोरी थिए । ती मध्ये ८ जनाको केश जटिल देखिएपछि अप्रेशन गर्नुपरेको थियो । सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १ सय ६७ मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए । अनिच्छिद गर्भधारण भएकामध्ये ठूलो संख्याका किशोरीहरू नीजि क्लीनिकमा गएर समेत गर्भपतन गराउने गरेको पाईन्छ ।

बालविवाहकै कारण किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । किशोरीहरूमा गर्भपतन गराउने दर समेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाई छ ।

रोल्पा अस्पतालमा सोही वर्ष पहिलो गर्भ जाँच गर्न आएका २ सय ५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए । जिल्ला सदरमुकाममा रहेको एक स्वास्थ्य संस्थाको तथ्यांक हो यो । स्वास्थ्य कार्यालय रोल्पाले प्रकाशित गरेको प्रतिवेदनमा जिल्लाका स्वास्थ्य संस्थामाजाँच गराउने गर्भवतीमध्ये २९.४३ प्रतिशत संख्या २० वर्ष मुनीका किशोरीको हुने गरेको छ ।

सोही वर्ष रोल्पा प्रहरीले मौखिक उजुरीका आधारमा ४३ वटा बालविवाह रोकेको थियो । समुदाय तथा विद्यालय स्तरमा गठन भएका बालक्लवहरूले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजुरी दिने संयन्त्र वनाएका छन् । त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले रोकेको बालविवाहको संख्या हो यो ।

जिल्लामा बालविवाह विरुद्धको अभियान चलाएका सक्रिय बालक्लवको संख्या निकै न्यून थिए । थोरै मात्रै बाल क्लवहरू सक्रिय रहदा रोकिएका बालविवाहको संख्या यति धेरै रहदा जिल्लाभर यसको अवस्था कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या विकास कोषको रोल्पास्थित कार्यालयले केहीवर्ष अघि गरेको एक सर्वेक्षणमा रोल्पामा १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३०.१४ प्रतिशत छ । सोही संस्थाको रिपोर्ट अनुसार सो उमेर समूहका १५.२४ प्रतिशत किशोरीहरूले पहिलो बच्चा समेत जन्माई सक्ने गरेको पाइएकोे छ ।

एक अर्को सर्भेक्षण अनुसार जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका बालबालिकाले गर्ने गर्दछन् । यसैगरि १५ वर्ष नपुग्दै गरिने विवाहको संख्या ६.८ प्रतिशत देखिएको छ । यो सर्भेक्षण जिल्लाका साविकका केही गा.वि.समा गरिएको थियो ।

नेपालको कानूनले बालविवाहलाई अक्षम्य अपराधको रुपमा राखे पनि यस्तो अपराध गर्नेहरूलाई न कानूनी कारवाहीहुने गरेको छ न सामाजिकवहिष्कार नै । नेपालको फौजदारी संहिताअनुसार बीस वर्ष नपुग्दै गरेको विवाह स्वतःवदर हुन्छ र त्यस्तो कसुर गर्ने गराउनेलाई कैद र जरीमानाको व्यवस्था गरेको छ ।

बालविवाहको सर्वाङ्गिण असर देखिने गर्दछन् । शिक्षा र स्वास्थ्यका साथै अन्य क्षेत्रमा समेत यसका असरहरु देखिने गर्दछन् । बालविवाहकै कारण जिल्लामाविद्यालय उमेरका १० प्रतिशतवालवालिकाहरुविद्यालयवाहिरै रहेको एक सर्वेक्षणले देखाएको थियो ।

संयुक्त राष्ट्र संघीय जनसंख्याविकास कोषले जिल्लामा गरेको सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो । पढ्दा पढ्दै विवाह गर्ने विद्यार्थीहरू विवाहपछि कमैले मात्रै पढाईलाई निरन्तरता दिने गरेको पाइन्थ्यो । जसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहो¥याउने संख्या समेत घट्न सकेको थिएन ।

बालविवाहको यस्तो विकराल अवस्थाले जिल्लाको समग्र विकासमा प्रभाव पारिरहेको थियो । शिक्षा,स्वास्थ्य, रोजगारीको ग्राफ कमजोर हुनुको विभिन्न कारण मध्ये बालविवाहपनि एक महत्वपूर्ण कारण हो । हरेक कक्षामा विद्यार्थी किन घटिरहेका छन् ?उमेर बढ्दै जान्छ विद्यार्थी घट्दै गईरहेका छन् । यसको कारक बालविवाह भनेर सजिलै पन्छिने काम हुने गर्दथ्यो ।

बालविवाह किन भईरहेको छ ? त्यसको उत्खनन कहिल्यै कसैले गर्दैनथे । बालविवाहलाई समस्याको रुपमा देखायो, पन्छियो । पारिवारिक र सामाजिक चालचलन तथा सांस्कृतिक रितिथिति दोषी छन् की कहिले अन्वेशन गर्ने ? तथापी सामाजिक सांस्कृतिक मूल्यमान्यता तथामौसमी वसाई सराई, गोठ वस्ने पराम्परा, मेलाजात्राले वालविवाहलाई प्रसय दिईरहेका छन् । यसलाई कसरी व्यवस्थापन गर्ने यो चिन्ताको विषयभएको छ ।

जिल्लामा रोल्पानगरपालिकाले बालविवाह न्यूनिकरण सम्बन्धी पाँचवर्षे रणनैतिक योजना तर्जुमा गरेको छ । रणनैतिक योजनाअनुसार पाँचवर्ष भित्र नगरपालिका बालविवाहमुक्त हुनेछ । जनप्रतिनिधि, राजनैतिक दलका अगुवा, पत्रकार, बालक्लवका प्रतिनिधि, सहयोगी निकायका प्रतिनिधिको छलफल र सुझावका आधारमा रणनैतिक योजना तय गरिएको हो ।

कार्ययोजनाअनुसार वि.सं.२०८० सम्म नगरपालिका बालविवाह मुक्त घोषणा हुने भनिएको छ । यसै गरि जिल्लाका अन्य स्थानीयतहरूले समेत बालविवाह न्यूनिकरणका लागी आवधिक योजनाबनाएर कार्यान्वयन गरिरहेका छन् । स्थानीयतहको नीति तथा कार्यक्रममा बालविवाह न्यूनिकरणलाई प्राथमिकता दिइएको छ ।

बालविवाह न्यूनिकरणका लागि विद्यालय र समुदायहरूमा बाल क्लवहरू कृयाशील रहेका छन् । उनीहरूले बालविवाह रोकथामका लागि जनचेतना मुलक कार्यक्रमका साथै प्रहरीलाई सहयोग पनि गरिहेका हुन्छन् । किशोरीहरूको समूहले पनि यस काममा सहयोग गरिरहेका छन् ।

जिल्लामा संयुक्त राष्ट्रसंघीय जनसंख्याविकास कोष, नेपाल रेडक्रस सोसाईटी, सामुदायिकप्रहरी सेवा समिति, आईपास, माहुरी होम लगायतका दातृ निकाय, सरकारी तथा गैर सरकारी निकायहरूले पनि यसमा ध्यान दिन थालेका कारण बालविवाह न्यूनिकरणमा गरिएका प्रयासहरू सार्थक हुने अवस्थामा पुगेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !