१६ आश्विन २०७९, आइतबार

पाउडर प्लान्टकाे औचित्यता

प्रकाशित मिति :  7 July, 2022 11:25 am


दूधको उत्पादन चार प्रतिशतले र माग १० प्रतिशतले बढिरहँदा औपचारिक रूपमा दूधको खपत १७ प्रतिशतमात्र छ । उत्पादन बढिरहेको छ तर मागअनुसार आपूर्ति हुन नसक्दा गोठदेखि ओठसम्म दूध मूल्य श्रृङ्खला व्यवस्थित हुनसकको छैन ।  


पछिल्ला वर्षमा किसानले औपचारिक रूपमा मिल्क होलिडेको समस्या कम झेल्नु परेको छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा अघोषित नाकाबन्दी भोगे पनि किसानले दूध नबिकेर खेर फाल्नु पर्ने समस्या भने कम भएको छ । दूध बिदा भनेको सरकारले पछिल्लो समयमा घोषणा गरेको शनिबार र आइतबारको बिदाजस्तो विषय भने होइन । दूध उत्पादन बढी हुने र खपत कम हुने अवस्थामा उद्योगले हप्तामा तोकिएको दिन घोषणा नै नगरेर दूध नकिन्ने अवस्था मिल्क होलिडे (दूध बिदा) हो। 

मिल्क होलिडे किसानका लागि दुःखद् पक्षमात्र होइन कुल गार्हस्थ्य उत्पादनमा करिब नौ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्रमा समस्या पर्नु भनेको अर्थतन्त्रमा पनि उत्तिकै नकारात्मक विषय हो । दुग्ध उत्पादनसमेत पशुपालन क्षेत्रको मात्र योगदान कुल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत छ । त्यसैले पनि सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको छ । 

दशकअघिदेखि दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउने योजना लागू गरेको सरकारले गत वर्षमात्र पाउडर दूध (स्किम मिल्क पाउडर) मा आत्मनिर्भर घोषणा गरेको छ । झोल दूधमा पनि करिब करिब आत्मनिर्भर भएको वर्तमान अवस्थामा अझै पनि दूधको मूल्य श्रृङ्खला भने व्यवस्थित हुन सकेको छैन । पाँच लाख भन्दा बढी किसानको दैनिक आम्दानीको स्रोतको रुपमा रहेको यो क्षेत्रलाई व्यवस्थित गर्न थप पहलकदमी जरुरी देखिएको छ । 

पछिल्लो आधा दशकयता झोल दूध त आयात गर्नुपरेको छैन भने कम्तीमा दुग्ध उत्पादनको क्षेत्रमा पुग्ने दूध पाउडर उत्पादन नेपालमै हुन थालेको छ । सरकारले दूध आयातमा रोक लगाएर स्वदेशी उद्योग प्रवद्र्धनमा जोड दिएको छ । एकातिर उत्पादन, माग र आपूर्ति बढिरहेको छ भने दुग्ध क्षेत्रमा लगानी पनि बढिरहेको छ । अर्कोतर्फ लगानी जोखिमता पनि बढेको देखिन्छ । दूधको उत्पादन चार प्रतिशतले र माग १० प्रतिशतले बढिरहँदा औपचारिक रूपमा दूधको खपत १७ प्रतिशतमात्र छ । 

उत्पादन बढिरहेको छ तर मागअनुसार आपूर्ति हुन नसक्दा गोठदेखि ओठसम्म दूध मूल्य श्रृङ्खला व्यवस्थित हुनसकको छैन । उत्पादन र आपूर्तिमा तालमेल नमिलिरहेको अवस्थामा भएकै तीनवटा दूध पाउडर प्लान्ट न्यून क्षमतामा हुनु र थप चारवटा पाउडर प्लान्ट सञ्चालनको तयारी हुनुले उद्योगको लगानी जोखिमता बढाएको छ । यसतर्फ सरोकारवालाको गम्भीर ध्यानाकर्षण जरूरी देखिन्छ । 

आत्मनिर्भरता र नमिलेको माग–आपूर्ति तालमेल

सरकारले पाउडर दूधमा आत्मनिर्भर घोषणा गरेको एक वर्ष नपुग्दै पाउडर दूधको अभाव देखिन थालेको छ । सरकारको तथ्याङ्कअनुसार नेपालभर ७४ लाख ५८ हजार ८ सय ८५ गाई र ५२ लाख ५७ हजार ५ सय ९१ भैंसीबाट २३ लाख १ हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । तर कम दूध उत्पादन हुने सिजन चैतदेखि असोजसम्म मागअनुसार दूध पाउन उद्योगीलाई समस्या छ ।

झोल दूध नै घटेको बेला पाउडर दूध बनाउन उद्योगलाई दूध अभाव हुने गर्छ । “वैशाख पहिलो सातादेखि नै हामीलाई आवश्यक पर्ने दूध अभाव भइसकेको छ, हाम्रा उद्योग कम क्षमतामा चलिरहेका छन् भने बजारको माग पूरा गर्न असहजता आइसकेको छ,” पोखरास्थित सुजल डेरी पोखराका सञ्चालक तथा डेरी उद्योग संघका उपाध्यक्ष निरन्जन श्रेष्ठको भनाइ छ । 

पाउडर दूध आयात अनुमति दिँदा दीर्घकालमा स्वदेशी उद्योगलाई असर पर्नसक्ने भएकाले केही महिनाका लागि झोल दूध खुला गर्नुपर्ने उनको सुझाव छ । नेपालमा डेरी क्षेत्रको अवस्था केलाउँदा फल सिजनमा खपतभन्दा बढी दूध उत्पादन हुन्छ भने लिन (सुक्खा) सिजनमा दूधको अभाव हुन्छ । लिन सिजनको करिब १ सय ८० दिनको दूध बजार मागको खपतमा नै अपुग हुने हुँदा यो सिजनको दूधबाट छिटपुटबाहेक झोल दूधलाई धूलो दूधमा कन्भर्जसन (पाउडर बनाउने) काम हुँदैन । 

फल्स सिजनमा मागभन्दा बढी उत्पादन भएको दूधलाई कन्भर्जन गरी धूलो दूध बनाइन्छ, यसरी कन्भर्जन गरिएको धूलो दूधको ठूलो हिस्सा डेरी व्यवसायीले दूधको उत्पादन कम हुँदा प्रयोग गर्छन् भने चकलेट, बिस्कुट, भ्याक्सिन लगायतका उद्योगमा पनि यसको खपत हुन्छ । अहिले नेपालमा दैनिक दुई लाख लिटर दूध अपुग रहेको अनुमान छ । अहिले अपुग पूर्ति गर्न मौज्दात धूलो दूधले भूमिका खेलेको छ । तर वैशाख सुरु भएसँगै मौज्जाद सकिनै लागेको छ, पाउडर दूधको । र, यो सिलसिला हरेक वर्ष चलिरहन्छ । उपलब्ध भए २५ सय मेट्रिक टन बढी दूध पाउडर खपत हुने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । 

वैशाखदेखि असोज कात्तिकसम्म दूध तथा दुग्ध पदार्थको माग बढ्ने सिजन हो । यो सिजनमा गर्मी पनि पर्ने भएकाले आइसक्रिमको बढी उत्पादन हुने गर्छ भने बिहेवारी, दशैं, तिहार, छठलगायतका चाडपर्वका कारण पनि माग बढ्छ । तर यही सिजन उत्पादन कम हुने सिजन पनि हो । त्यसैले पनि मागलाई आपूर्ति गर्न अनौपचारिक रूपमा आयात हुने सम्भावना बढी हुने र प्रशोधित दुग्ध पदार्थ आयात बढ्ने देखिन्छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म एक अर्ब १८ करोड ८५ लाख १५ हजार रुपैयाँभन्दा बढीका दूधबाट बनेका परिकार आयात भएको देखिन्छ । प्याकिङ गरिएका दुग्ध पदार्थ आयात भने सरकारले रोकेको छैन । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव भने हालको औपचारिक खपत १७ प्रतिशतबाट बढाउन सकेमा उद्योगलाई आवश्यक दूध अभाव नरहने बताउँछन् । 

फेसन बन्दै पाउडर प्लान्ट ?

मिल्क होलिडेको समस्या हटाउन अचुक उपायको रूपमा सरकारले पाउड प्लान्टलाई लियो । दुग्ध विकास संस्थानको विराटनगरस्थित पाउडर प्लान्टले २०५२ यता केही समस्या समाधान ग-यो । त्यसपछि चितवन मिल्क र सुजल डेरीले बढी उत्पादन हुने दूधलाई पाउडर र बटर बनाएर समस्या समाधानका लागि काम गरे । तर तीनवटै प्लान्ट हालसम्म पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । 

सुरुवाति क्षमता प्रतिदिन ५० हजार लिटर रहेको सुजल मिल्कले पछिल्लो समयमा दुई लाख लिटर प्रतिदिन बनाएको छ । चितवन मिल्कको क्षमता डेड लाख लिटर बढी छ । दुग्ध विकास संस्थानको क्षमता ७० हजार छ । दैनिक तीन लाख लिटरभन्दा बढी दूध कन्भर्जन गर्ने क्षमता भएका प्लान्टमध्ये संस्थानको प्लान्ट सिजनमा पूर्ण क्षमतामा चल्ने गरेको छ भने बाँकी दुई उद्योग हालसम्म ५० प्रतिशत क्षमताभन्दा बढीमा चलेको रेकर्ड छैन । यस्तोमा ठूूलो लगानी भएका यी उद्योग पूर्ण क्षमतामा चलाउने नीति अवलम्बन गर्न सरकार चुकेको छ ।

कोरोना महामारीमा दूध खपत नबढेर किसानले समस्या भोग्नु प¥यो । सरकारले मात्र नसकेर निजी डेरीहरूको पहलमा भएका दुई प्लान्टलाई सञ्चालन गरेर मिल्क होलिडे कम गर्ने कोसिस गरियो । तर यसलगत्तै नयाँ पाउडर प्लान्ट पनि खुल्ने प्रक्रिया अगाडि बढे । बागमती प्रदेश सरकार आफै हेटौंडामा धूलो दूध उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा छ । प्रदेश सरकारको सहयोगमा विराटनगरमा कामधेनु सहकारीले पनि उद्योग स्थापनाको कार्य अगाडि बढाएको छ । निजी क्षेत्रबाट खरिपाटी डेरीले धूलो दूध उत्पादन गर्ने उद्योग निर्माणको कार्य सम्पन्न गरिसकेको छ भने सूर्याेदय डेरीले पनि उद्योग निर्माणको कार्य गरिरहेको छ । 

डेरी क्षेत्रमा निजी र सरकारी क्षेत्रबाट अर्बौं लगानी भइसकेको छ । करिब ३५ अर्बको लगानी दुग्ध क्षेत्रमा रहेको अनुमान छ । जसमध्ये ठूलो हिस्सा धूलो दूध कारखानाको पनि छ । यसबीच बदाम मिल्कजस्ता अन्य दुग्ध पदार्थ पनि स्वदेशमै उत्पादन हुन थालेका छन् । यसले पनि दूधको माग बढाएको छ । धूलो दूध उद्योगमा मात्र निजी क्षेत्रबाट चार अर्ब बढी लगानी भएको छ । बाँकी साना ठूला गरी सयौंको संख्यामा रहेका डेरी उद्योगले पनि लगानी गरेका छन् ।

“जसरी धूलो दूध उत्पादन गर्ने उद्योगमा आक्रामक रूपमा लगानी भित्रिएको छ, त्यो अनुपातमा दूधको उत्पादन बढ्न नसक्दा यस्ता उद्योगको भविष्य नै अन्योलमा पर्ने हो कि भन्ने आशंका उब्जिएको छ,” नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल बताउँछन् । यसअघि सञ्चालनमा रहेका निजी क्षेत्रका दुई उद्योग ५० प्रतिशतभन्दा कम अर्थात् आधा क्षमतामा पनि चल्न सकेका छैनन्, जसको कारण हो बजारमा झोल दूधको अभाव भएकाले अध्ययन बिना लगानी बढाउन जोखिमपूर्ण काम रहेको उनको भनाइ छ । 

धूलो दूधलाई तापक्रम मिलाउन सके १८ महिनासम्म पुनः दूध बनाएर वा सिधै प्रयोग गर्न सकिन्छ । उचित तापक्रम मिलाउनका लागि शीतभण्डारको जरूरी पर्छ । अहिले देशमा उत्पादन हुने पाउडर दूध राख्नका लागि समेत शीतभण्डारको अभाव छ । हालै नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनामा अनुदान सहयोग र डेरी व्यवसायीको लगानीमा चितवनस्थित चितवन मिल्क लिमिटेडको जग्गामा शीतभण्डार निर्माणकार्य अगाडि बढाएको छ । सुजलले पनि आफ्नो क्षमता बढाएको छ ।

डेरी व्यवसायीको छाता संगठनका रूपमा रहेको डेरी उद्योग संघले शीतभण्डार निर्माणका लागि पहल अगाडि बढाएको हो । कुल लागत दुई करोड रहेको उक्त शीतभण्डार चार महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ । शीतभण्डारमा सात टनका नौ वटा र १५ टनका दुईवटा भण्डार गर्ने स्टोर रहने छन् । “हामीलाई आवश्यक पर्ने दूधको आपूर्ति गर्ने हो भने पाउडर प्लान्ट धरासायी हुनबाट जोगिने मात्र हैन दूध मूल्य श्रृङ्खलामा पनि सहयोग पुग्छ,” चितवन मिल्कका सञ्चालक राजुबाबु श्रेष्ठ भन्छन् । 

(टक्सार म्यागजिन, जेठ २०७८, पृष्ठ १३ देखि १६)



प्रतिक्रिया दिनुहोस !