११ बैशाख २०८१, मंगलबार

पर्यटकीय गन्तव्य बन्दै गल्याङ चिउरी भीरको झोलुङ्गे पुल

प्रकाशित मिति :  14 August, 2022 3:35 pm


स्याङ्जा । स्याङ्जाको आँधीखोलामा गल्याङ नगरपालिका ७ र ८ जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ। निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको थियो । सोही पुल बनाएर २०७८ वैशाखमा सक्नुपर्ने भएतापनि कोरोनाका कारण समय अवधि थप गरिएको थियो ।

निर्माण सम्पन्न भएसंगै फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ । चिउरी भीरमा आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो ।

२०७९ साउन २० गतेसम्ममा सक्नेगरी समय अवधि थप गरिएकोमा निर्धारित समय अगावै सम्पन्न भएको छ । ३ सय ६८ मिटर लामो र १ सय ९० उचाई भएको झोलुङ्गे पुल निर्माणका लागि १ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियोे ।

पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवतजावत गर्न सहज हुनुका साथै सिद्धार्थ राजमार्गसँग प्रत्यक्ष सम्पर्क पनि जोडिएको छ । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको गल्याङ नगरपालिका वडा नम्बर ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरसम्म दर्शनार्थीलाई पुग्न पुलले सहयोग पुर्‍याएको स्थानीयबासीले बताएका छन् ।

विशेषगरी अहिले सोही झोलुङ्गे पुलमा पारिवारिक घुमघाम तथा टिकटक बनाउन पनि युवायुवतीको घुइँचो लाग्ने गरेको छ । यो पुलमा दैनिक रुपमा ४ सयदेखि ५ सय जनाले अवलोकन गर्ने गरेका छन् । विशेष गरि उक्त पुलमा शनिवार र सार्वजनिक विदाका दिनमा मानिसहरुको भीडभाड हुदैँ आएको छ ।



प्रतिक्रिया दिनुहोस !