७ पुस २०८२, सोमबार

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

प्रकाशित मिति :  1 September, 2022 7:56 am


काठमाडौं । आज ऋषि पञ्चमी अर्थात भाद्र शुक्ल पञ्चमी आज हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै घर नजिकको खोला, लात, तलैयामा स्नान गरी ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, तुलसीको मठको माटो, बेलको जराको माटो, अमलाको जराको माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्न गर्दछन् ।

ऋषि पञ्चमी पूजा महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् बताउँछन् । रजस्वलाका भएको बेलामा कुनै गल्ती भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

आज स्नानगरी पूजा आजा सकेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।आजको दिन काठमाडौंको टेकुमा रहेको ऋषि मन्दिर लगायत देशभरका ऋषेश्वर मन्दिरमा वर्तालुहरुको भीड लाग्छ ।



प्रतिक्रिया दिनुहोस !