१२ बैशाख २०८१, बुधबार

पाँचपोखरी थाङपाल पर्यटकीय ‘हब’ बन्दै

प्रकाशित मिति :  9 September, 2022 3:29 pm


सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल ९हब० बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो ।

गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले पर्यटन प्रवद्र्धनका लागी सबैभन्दा महत्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथकितामा राखेको बताइन् । उनले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताइन् । हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भू–भागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने गर्दछ ।

पालिकाले महत्वाकांक्षी योजनाको रूपमा पाँचपोखरीसम्म केवलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।

भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ छ दशमलब पाँच किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ ।

केवलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने वडा नम्बर –३ भोताङका वडाअध्यक्ष निमाछिरिङ तामाङले बताए । वडाअध्यक्ष तामाङका अनुसार यसका लागि यहाँ दुईवटा वैकल्पिक बाटो समेत निर्माण भइरहेको छ ।

मेलम्ची– भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जालापास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस !