१४ बैशाख २०८१, शुक्रबार

लिपुलेक, कालापानी र लिम्पियाधुरामा टेलिकमको फोरजी सेवा

प्रकाशित मिति :  15 September, 2022 3:40 pm


काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा सञ्चालन गरेको छ ।

त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

अब छाङरुमा रहेका करिव १२० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !