११ बैशाख २०८१, मंगलबार

एनसेलले सुरु गर्‍यो ई–सिम वितरण

प्रकाशित मिति :  25 November, 2022 5:54 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ई–सिम वितरण सुरुवात गरेको छ । एनसेलले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको जनाएको छ ।

एनसेलका ग्राहकहरूले आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्ने जनाएको छ ।

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिने एनसेलले उल्लेख गरेको छ ।

एनसेलका अनुसार भौतिक रूपमा प्रयोग हुने सिम भन्दा ई–सिम सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । एनसेलका अनुसार यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु ।

ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै पनि शुल्क नलाग्ने एनसेलले जनाएको छ ।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल आवश्यक पर्छ । आफ्नो मोबाइल ई–सिम चल्ने वा नचल्ने एस्ट्रिक्सह्यास०६ह्यास डायल गरेर थाहा पाउन सकिन्छ ।

यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।

उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरूको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आइफोनका पछिल्ला मोडलहरू जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ ।

त्यसै गरी सामसुङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ ।

ब्रान्ड र मोबाइलका मोडलहरूका आधारमा विभिन्न मोबाइलहरूमा एक भन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।



प्रतिक्रिया दिनुहोस !