२० फाल्गुन २०८०, आइतबार

आयआर्जनमा जोडिँदै दाङका मुक्तकमलरीहरू

प्रकाशित मिति :  19 December, 2022 4:11 pm


दाङ । घोराही-२ सुर्केडागीका पूर्वकमलरी सोमती चौधरी पछिल्लो तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेकी छन् । मौसम अनुसार तरकारी उत्पादन गर्दै आएकी उनले यसवर्ष काउली, बन्दा र गोलभेँडा लगाएकी छन् ।

कुनै समय अर्काको घरमा बधुवा मजदूरका रुपमा पाँच वर्ष बिताएकी उनी यतिबेला आफैले तरकारी खेती सुरु गरेपछि आर्थिक र सामाजिक रुपमा आत्मनिर्भर बनेकी छन् । सरकारले २०७० साल असार १३ मा कमलरीमुक्त घोषणा गरेपछि चौधरी र उनी जस्तै अन्य कमलरीहरु त्यसयता मुक्त कमलरी विकास मञ्चमार्फत् एकत्रित भएका छन् । हाल मुक्त भएका कमलरीहरु ४२ वटा सहकारी संस्था र एउटा समूहमार्फत् आय९आर्जनका जुटेका छन् ।

चौधरीले मक्त कमलरी विकास मञ्च र आइएम संस्थाको घुम्ती कोषमार्फत् रु २० हजार सहायता पाएपछि व्यवसाय सुरु गर्नुभएको थियो । साढे तीन कठ्ठा जमिनमा व्यावासायिक तरकारी खेती गरिरहनुभएकै चौधरीले परिवारको खर्च कटाएर केही रकम बचत पनि गरिरहेको बताइन् । एक वर्षसम्म ब्याज तिर्नु नपर्ने गरी पाएको ऋणकै कारण व्यवसाय गर्न सहज भएको उनको भनाइ छ । “कमलरीका रुपमा काम गर्दा निकै दुःख थियो, हामीहरु स्वतन्त्र थिएनौ”, उनले भनिन्, “अहिले आफैले गरेको व्यवसायबाट आत्मनिर्भर बन्न पाउँदा निकै खुसी लागेको छ ।” कमलरीका रुपमा समयमा खान, सुत्न नपाउने र विद्यालय जान नपाएका नमीठा अनुभव भने अझै पनि उनको मनबाट हट्न सकेका छैनन् ।

चौधरी २०६३ मा असाय नानीहरुको साथी ९एफएनसी०ले कमलरीमुक्त गराएपछि प्राथमिक विद्यालय पलासेमा कक्षा ५ मा भर्ना भइन् भने कक्षा ८ सम्मको अध्यया माध्यमिक विद्यालय गोग्लीबाट पूरा गरिन् । विसं २०७१ मा महेश चौधरीसँग विवाह भएपछि गृहस्थीको जीवन सुरुवात गरेकी थिइन् । घोराही वडा नं २ कि अञ्जु चौधरीले पनि पाँच वर्ष कमलरीका रुपमा बिताइन् । विसं २०७१ मा विवाह गरेकी उनी पनि व्यावसायिक तरकारी खेतीमै छिन् ।

उनले तीन कठ्ठा आफ्नो र चार कठ्ठा जमिन वार्षिक तीन हजार भाडामा लिएर काउली र गोलभेँडा खेती गरिरहेकी छन् । सात जनाको परिवार सबै खेतीमा लाग्दा सजिलो पनि भएको र यसबाट आम्दानी पनि राम्रो भएको उनले सुनाइन् ।

“मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले रु २० हजार ऋण दिएपछि व्यवसाय गर्न सजिलो भयो”, उनले भनिन्, “पैसा अभाव भएको बेला घुम्ती कोषले ऋण दिएपछि व्यवसाय गर्न सहज भयो ।”

घोराही –२ सुर्केडागीकि पूर्व कमलरी सन्तोषी चौधरी पनि व्यावसायिक तरकारी खेतीमै छिन् । आफूसँग भएको साढे आठ कठ्ठा जग्गा र भाडामा लिएको नौ कठ्ठा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेको उनले सुनाइन् ।

“सुरुमा घरलाई मात्रै पुग्ने तरकारी खेती गरिरहेका थियौँ”, उनले भनिन्, “पछि मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले बचत गर्ने तरिका, लगानी, समूहमा बस्दाको फाइदा र बालविवाह जस्ता व्यवहारिक ज्ञान दिएपछि व्यवसायतिर लागेकि हुँ ।”

तरकारी खेतीबाट गतवर्ष रु चार लाख आम्दानी भएको उनले सुनाइन् । “व्यावसायबाट भएको आम्दानीबाट प्रत्येक महिना दुई सय बचत गर्छौ, यसरी ३० जनाको समूहमा बचत हुने मासिक छ हजारलाई एक प्रतिशत ब्याजमा लगानी गर्छौ”, उनले भनिन् ।

साढे पाँच वर्ष कमलरी बसी २०६५ सालमा कमलरी मुक्त भएकी घोराही –२ रामपुर निमुरियाका विपति चौधरी पनि आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी छन् । कमलरी मुक्त भएपछि मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाले गुरधौली कृषि महिला समूहको अध्यक्ष बनाएको थियो ।

“संस्थाले अध्यक्ष पनि बनायो र रु २० हजार घुम्ती कोषमार्फत् सहयोग पनि ग¥यो”, उनले भनिन्, “उक्त पैसाबाट घरमै चिया तथा नास्ता र किराना पसल चलाइरहेकी छु ।”

समय समयमा संस्थाले तरकारी खेती तालिम, बचत गर्ने तरिका र जीवन जिउने कलाबारेमा सिकाउने गरेकाले जीवन परिवर्तन भएको उनको अनुभव छ ।

मुक्तकमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारुले नेपाल सरकारले मुक्तकमलरीको पुनःस्थापनाको लागि सरकारले ध्यान नदिएको बताइन् । विशेष गरेर छात्रावासमा रहेका नानीहरुलाई पढाइ खर्च र छात्रावासमा खानपिनको खर्च अभाव भएको उनको भनाइ छ ।

हाल कमलरी आबद्ध सहकारीमा १४ हजार सात सय २१ जना सदस्य छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा, बङ्गुर, किराना पसल र होटल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्तकमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले जानकारी दिइन् ।

मुक्तकमलरीका छोराछोरीले बाबुआमाले जस्तो दुःख नपाउन भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको उनले बताइन् ।

दाङमा चार सय ८७ जना, बाँकेमा ६७, बर्दियामा तीन सय ९५ जना, कैलालीमा चार सय ३३ ,कञ्चनपुरमा एक सय ५१ मुक्तकमलरीले अध्ययन गरिरहेको मुक्तकमलरी विकास मञ्चले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !