१२ श्रावण २०८१, शनिबार

नापतौल कार्यालयले अनुगमनका लागि खटायाे ‘डोर टोली’

प्रकाशित मिति :  20 December, 2022 11:58 am


काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो

कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनः जाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको जानकारी दिए । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ ।

नौ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । सो कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाको नापतौलसम्बन्धी काम हुँदै आएको छ ।

सो कार्यालयले पछिल्लो समय नुवाकोटको विदुर, काठमाडौँको चन्द्रागिरि, धुम्बाराही तरकारी बजार, कुलेश्वर खाद्य व्यवसाय, टुकुचा तरकारी बजार, ललितपुर सुन चाँदी व्यवसाय, भक्तपुर सुन चाँदी व्यवसायलगायतको क्षेत्रमा टोली परिचालन गरिसकेको छ ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको कार्यालय प्रमुख झाले बताए । रासस



प्रतिक्रिया दिनुहोस !