८ जेष्ठ २०७९, आइतबार

काेराेना कहर; कृषि र भाेकमरीकाे सवाल

प्रकाशित मिति :  10 April, 2020 11:43 am


एक्काइसौं शताब्दी को विज्ञानलाई चुनौती दिँदै २०१९ को डिसेम्बरदेखि चीनको बुहान बाट शुरु भएको कोभिड १९ विश्वका २०० भन्दा बढी देशहरुमा फैलिसकेकाे छ । चैते हुरिले लटरम्म फाल्नका लागि तम्तयार फूलहरूलाइ निर्ममतापूर्वक बोटबाट भुइँमा झारे झैँ आजसम्म हजाराैैं (याे  आलेख तयार हुँदासम्म ९५ हजार नाघेकाे) मानिसहरुलाई कोरोना रुपी हुण्डरी ले यस पृथ्वीबाट अलग्याइ सकेको छ । थाहा छैन अझै कति कलकलाउँदा फूलहरू यो सन्सार छोडेर बिदा हुन बाध्य हुनेछन् । काेराेनाबाट बचेकालाइ पनि भविष्यमा बाँच्न मात्र पनि चुनाैतिकाे विषय बन्ने वाला छ ।

नेपालमा पनि केही ढिलो गरी एकजनामा देखिएको यो भाइरसका कारण यो लेख तयारपार्दा सम्म ९ जनामा संक्रमण देखिसकिएको छ तथापी कोरोनाका कारण यतिखेर विश्वका विकसित राष्ट्रहरुले ब्यहोरेको कहालीलाग्दो नरसंहार हाामिले ब्यहोर्नु परेको छैन। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले प्रकृतिमाथि गरेको अत्याचार र मानव मानवबीचको द्वन्द्वका कारण विभिन्न समयमा यस्ताखालका अप्रत्याशित दुर्घटनाहरु घट्ने गरेका ऐतिहासिक दृष्टान्तहरु छन। जसले मानव सभ्यता र सिङ्गो पृथ्वीलाई नै चुनौती दिइरहेको छ।

नेपालको संविधानको धारा ३६ ले नागरिकको खाद्य सुरक्षा, सम्प्रभुता र अधिकारको सुनिश्चितता गरेको छ । तसर्थ संविधानतः प्रत्येक नागरिकलाई भोको रहन नदिनु राज्यको दायित्व हो । तर कोभिड १९ को संक्रमणपछि संसार भरनै खाद्यान्न लगायतका समाग्रीहरु को अभाव र अस्थिरता बढ्ने निश्चित जस्तै देखिएको छ। नेपालको सन्दर्भमा कृषिजन्य उत्पादनको मात्र कुरा गर्ने हो भने पनि गत वर्ष मात्र लगभग एक खर्ब पचास अर्बको विभिन्न प्रकारका कृषि उपजहरू आयात भएको तथ्यांक हरू छन् । जसमध्ये हामीले सबैभन्दा बढी आयात गर्दै आएको देश भारत हो । यसवर्ष हामीले आयात गर्दैआएका भारत लगायतका सबै देशहरू कोरोनाको चपेटामा छन् । त्यसैले भोलिका दिन हरु हिजो जस्तो सस्तो मूल्यमा पर्याप्त कृषि उपज आयात गर्न सकिने सम्भावना पनि घट्दै गएको छ । त्यसैगरी रोजगारीका लागि दैनिक पन्ध्र सयको हाराहारीमा विदेशिने नेपालीहरुको बहिर्गमन रोकिएको छ भने विभिन्न देशहरूमा रोजगारीका लागि गएका करिब दशलाख नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको स्वदेश आगमन भएको छ । यसरी हाम्रो खाने मुख हरु बढेका बेला रेमिट्यान्स मार्फत राष्ट्रिय आयमा दिँदै आएको योगदानमा कमी आउदैगर्दा हाम्रो क्रयशक्ति समेत कमजोर हुने देखिन्छ।

राष्ट्रिय आयको ठूलो हिस्सा खानपानमा नै खर्च भइरहेको हाम्रो जस्तो मुलुकमा यस वर्ष आन्तरिक उत्पादनका सूचकहरू पनि कमजोर रहेका छन् । गत आषाढमा समयमा र पर्याप्त पानी नपरेका कारण नब्बे प्रतिशत भन्दा बढी रोपांइ हुनसकेको थिएन । अन्न भण्डारको रुपमा रहेका तराईका बिभिन्न जिल्लाहरुमा यसवर्ष पटक पटक प्रकृति एवं मानवीय प्रहारहरु भएका कारण मुख्य बाली धान उत्पादनमा ठूलो गिरावट आएको छ। धान रोप्ने समयमा पानी नपर्नु र जसोतसो रोपीसकेपछि बाढी तथा डुबानका कारण रोपिएका धानहरूमा क्षती पुग्नाले पनी उत्पादन घटेको छ। नक्कली गरिमा धानको बीउ का कारण तेर्ह जिल्लामा सत्र हजार आठसय छ हेक्टरमा लगाइएका बालिमा क्षती व्यहोरेका किसानहरु धान पाक्ने समयमा फौजी किराको प्रकोपबाट नौ जिल्लाको बिसहजार चारसय चौध हेक्टर क्षेत्रफलमा रहेको धानमा क्षति बेहोर्न बाध्य भएको वर्ष हो यो ।

शिक्षा,स्वास्थ लगायत दैनिक जीवन गुजारा चलाउने आधारभूत आवश्यकताका वस्तुहरूमा महंगी को मार खेप्दै आएका नेपालीहरुलाई कोरोनाले खाद्य समग्रीहरुमा समेत मूल्यवृद्धिको भार थप्ने ठुलो सम्भावना छ। यतिखेर उखु गोड्ने,मसुरो,रहर,गहुँ,आलु भित्र्याउने र मकै,चैते धान लगाएत वर्षे तरकारीहरु रोप्ने सिजन भएकोले किसान कोठाभित्र थुनिएर बस्नु भनेको भोकमरीलाइ सिधै आमन्त्रण गर्नु बराबर हो। त्यसैले यतिखेर राज्यले नियमितरुपमा किसानका घर गोठमा उत्पादन भएका कृषि उपजलाई बिग्रन नदिई कोरोना बाट बच्ने उपायहरु अवलम्वन गराउँदै सहज तरिकाले भित्र्याउन र सुलभ मुल्यमा उपभोक्ताको वासस्थान सम्म पुर्याउने काममा सहजीकरण गरिदिनु अपरिहार्य देखिन्छ ।

किसानलाई उत्पादनकालागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु सहज र सरल तरिकाले किसानका गोठ,खोर, खेत र बारीमा उपलब्ध गराउने काम गर्न ढिलो गरियो भने भगवान श्री पशुपतिनाथको कृपाले कोरोना बाट बचौंला तर भोकमरी र महंगीले हामीलाइ हरेक दिन मार्ने छ। कृषिका एक एक उत्पादन र त्यससँग सम्बन्धित किसानकाे मनाेबल उँचाे बनाउनेदेखि भविष्यमा तीन कराेड नागरिककाे पेट भर्ने उत्पादन गर्नका लागि अहिलेदेखि नै अल्पकाल, मध्यकाल र दीर्घकालीन याेजना बनाएर अगाडि बढ्नु सरकारकाे दायित्व हाे । सरकारकाे कदममा साथ दिनु नागरिककाे कर्तव्य हाे । सबै मिलेर काेराेना कहरबाट कृषि जाेगाउन लागाैं ।

(अधिकारी  राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्षसमेत हुन्। )



प्रतिक्रिया दिनुहोस !