अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
करिब डेढ घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीले जानकारी दिए ।
अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।
सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३/४ सय यात्रु आक्रोशित भएर बसेका छन् ।
विमानस्थलभरि इन्टरनेट सेवामा समस्या आएकाले अध्यागमनको सेवा रोकिएको अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले बताए ।








