१३ बैशाख २०८१, बिहिबार

माैलिक स्वाद र संस्कृतिको नेपाली मोडलको पर्यटन आवश्यक: मन्त्री किराती

प्रकाशित मिति :  5 March, 2023 9:29 am


धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नु पर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने धारणा राखे।

पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतिको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने बताउँदै मन्त्री किराँतीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्नेमा जोड दिए ।

पूर्व मन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे । उनले उद्योगी व्यावसायीलाई स्थानीय उत्पादनको ब्राण्डिङमा समेत जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकीकृत अवधारणा आवश्यक रहेको बताए । उनले पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवद्र्धन गर्नु पर्ने पूर्वको समग्र पर्यटन प्रवर्द्र्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए। उनले हिल स्टेशनको अवधारणा अनुरूप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल ल्याउन सकिने समेत बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादन मुखी व्यापार, व्यावसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एक्पोमा पर्यटनसंग सम्बनिधत १५ सहित विभिन्न १३० वटा स्टरल रहेको सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !