‘अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधाराैं’
काठमाडौँ । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्व अध्यक्ष तथा सीईओ श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए।
“सहकारीमा समस्या मात्र छ्रैनन्, सम्भावना बोकेका र आफुलाई सफल प्रमाणीत गरेका सहकारीहरुपनि छन् यसको पहिचान गर्ने र भन्ने समय आईसकेको छ,” उपाध्यायले भने, “सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उपाध्ययको जोड रहेको थियो ।”
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्व विकासमा ठूलो योगदान पुगेको उनको भनाइ छ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाए। उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दाबी गरे । “अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सेवा प्रवाह गरिरहेको छ, संस्थामा बजारमा भनिएजस्तो समस्या छैन,” उनले थपे।
पाठकले ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको जानकारी गराए।
किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्दैै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे।
गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दाबी गरे।
कार्यक्रममा कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए।
गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसंग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए। उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताए।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिए । उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको बताए।
कोईरालाले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दुरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको बताए। अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गरेको जानकारी दिए।
कार्यक्रममा देशभर रहेका १ हजार ४ सय ५९ साझेदार सहकारी संस्था मध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रुपमा हेटौँडा इलाका कार्यालाई उत्कृष्ट इलाका कार्यालयका रुपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीय वित्तीय संस्था लि. का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।








