१२ श्रावण २०८१, शनिबार

लकडाउनमा पनि नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन

प्रकाशित मिति :  13 April, 2020 2:51 pm


बाँके, १ बैशाख ।

मुलुकमा जारी लकडाउनको फाइदा उठाउँदै बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।

राप्तीसोनारी-३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ ।

वडा नं २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिए ।

राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ ।

राप्ती नदीबाट दैनिक सयौंँ घनमिटर ढुङ्गा अवैध रुपमा उत्खनन हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको पूर्वसभासद् एवम् स्थानीय अगुवा पट्टुु थारुले चिन्ता व्यक्त गरे ।

गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लकडाउन जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दाबी गरे ।

उनले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा स् गाउँपालिकालाई सहयोग गर्न स्थानीयवासीलार्ई आग्रह गरे ।

एक टिपर नदीजन्य पदार्थ उत्खननका लागि चार हजार रोयल्टी तिर्नुपर्ने भए पनि लकडाउनको मौका छोपेर रातको समयमा अवैध उत्खनन हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजश्व घाटा भएको छ ।

अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले १४ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेकामा यस वर्ष चार पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !