वैशाख १० गतेदेखि अयुतचण्डी महायज्ञ हुने
काठमाडाैँ । अगामी वैशाख १० गतेदेखि २४ गतेसम्म अयुतचण्डी महायज्ञ एवं श्री गणपति महायज्ञ हुने भएको छ । मारवाडी सेवा समिति नेपालको तत्वाधनमा नेपालमा पहिलो पटक यति ठूलो यज्ञ भएको आयोजकको दाबी रहेकाे छ ।
महायज्ञमा श्रीमद्भागवत कथा, सन्त सम्मेलन र श्रीकृष्ण रासलीला पनि महायज्ञका क्रममा प्रस्तुत हुने बताइएको छ । २५१ व्राह्मणद्वारा १ सय कुण्डिय विराट महायज्ञकाे आयोजना गरिएको हो । महायज्ञ पशुपति मन्दिर परिसर हंश मण्डप वनकालीमा हुनेछ । आयोजकले स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि आयोजना गरिएको बताएको छ ।
महायज्ञमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराज उपस्थित हुने आयाेजकले जनाएकाे छ । महायज्ञमा २५१ व्राह्मणद्वारा १५ दिनमा १० हजार दुर्गा सप्तशती पाठ, ४० हजार गणपत्यर्थर्वशीर्ष, पाठ गरी १ हजार दुर्गा सप्तशती पाठद्वारा र ४ हजार गणपत्यर्थर्वशीर्ष पाठद्वारा १ सय कुण्डमा हवन गरिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराजले महायज्ञले नेपालको शक्ति बढ्नुका साथै अध्यात्मिक उर्जा वृद्धि हुने र उर्जाले बौद्धिक स्तर बढ्ने बताए । महायज्ञमा स्वामीश्री राघवाचार्य महारजको पनि कथावाचन हुनेछ ।








