१२ श्रावण २०८१, शनिबार

गुल्मीको धुर्कोट गाँउपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रति रोपनी ३ देखि ५ हजार रुपैयाँ अनुदान दिने

प्रकाशित मिति :  15 April, 2020 8:58 am


गुल्मी, ३ बैशाख।

गुल्मीको धुर्कोट गाँउपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई रोपनीका आधारमा अनुदान रकम उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसका कारण हुन सक्ने खाद्यान्न संकट टार्न भन्दै गाँउपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई रोपनीका आधारमा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

जमिन बाँझो राख्ने किसानलाई भने कर बढाउने निर्णय गरेको छ ।

गाँउपालिकाले सुन्तला,कागती तथा अन्य फलफूल खेती गरेमा प्रतिरोपनी ३ हजार र अन्नवाली, तरकारीबाली तथा मसलेदार खेती गरेमा ४ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

गाँउपालिकाले हाल लकडाउनका कारण गाँउपालिको तर्फबाट खाद्यान्न प्राप्त गरेको विपन्न तथा मजदुर घरपरिवारले आफ्नो स्वामित्वमा रहेको बाँझो जमिन वा अरु कुनै व्यक्तिबाट बाँझो जग्गा भाडामा लिएर अन्नबाली, फलपूल तथा मसलेदार खेती गरे प्रति रोपनी ५ हजार रुपैयाँका दरले रकम अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

कुनै व्यक्तिले खेती बाँझो राखे भूमिकर बढाउने समेत गाँउपालिकाले स्पष्ट पारेको छ । गाँउपालिकाको निर्णयमा भनिएको छ,‘यदि कुनै व्यक्तिले खेती योग्य जमिनमा खेती नगरी बाँझो जमिन राखेमा आगामी गाँउसभाबाट पास हुँने गरि भूमिकर बृद्धी गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’

खेती गर्न चाहनेले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनीको प्रमाणपुर्जाका प्रतिलिपी, लिजमा लिएको भए सोको सम्झौता, बालि लगाउने बाँझो जमिनको क्षेत्रफल बिवरण, सम्बन्धित वडाको सिफारिस र कृषि प्राविधिकको सिफारिस लिएर १५ दिनभित्र सम्पर्क गर्न भनेको छ ।

अनुदानका लागि २ बर्षदेखि खेती योग्य जमिन बाँझो हुनुपर्ने गाँउपालिकाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !