२० बैशाख २०८१, बिहिबार

कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस देखियाेः मन्त्री भुसाल

प्रकाशित मिति :  1 May, 2023 9:06 am


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन्।

आईतवार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौति गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले कृषि मन्त्रालयको बजेट कटौति नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए। कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए।

भुसालले कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए। “कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ ।” उनले थपे।

कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो नदेखिएकाे गुनासाे भुसालकाे छ । “पहिलो कुरा सिंचाईको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ,” उनले भने, “१० लाख ३० हजार हेक्क्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ ।”



प्रतिक्रिया दिनुहोस !