वर्षाले रोकिएको नेपाल र यूएईको बाँकी खेलले मंगलबार निरन्तरता पाउने
प्रकाशित मिति : 1 May, 2023 3:45 pm
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेलले मंगलबार पनि निरन्तरता पाउने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
वर्षाले रोकिएको खेल आजकै स्थितिबाट मंगलबार सुरू हुनेछ। भोलि वर्षा नभएमा आजकै स्थितिअर्थात युएईले २७.३ ओभरबाट ब्याटिङ सुरू गर्नेछ ।
तर, भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए खेल सुपर ओभरमा जानेछ । यदि सुपर ओभरबाट पनि खेल सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ।








