२१ बैशाख २०८१, शुक्रबार

पुँजीगत लाभकरबारे एनसेलले भन्यो,‘आईसीएसआईडीको निर्णयको सम्मान गछौँ’

प्रकाशित मिति :  12 June, 2023 1:19 pm


काठमाडौँ । ऐनसेल आजियाटाले इन्टरनेशनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ‘आईसीएसआईडी’ को मध्यस्थ सम्बन्धी फैसलाको सम्मान गर्ने बताएको छ ।

आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि गर्दै एनसेलले न्यायाधिकरणको निर्णयलाई सम्मान गर्ने जानकारी गराएको हो ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो ।

ऐनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ । यस विषयमा अद्यावधिक जानकारीहरू पछि घोषणा गरिनेछन् ।”

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको भन्दै आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको ऐनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ । यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन ।”

आजियाटा युकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रुपमा कारोबार गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन भन्दै निवेदन दिएको थियो ।

निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको आजियाटा गु्रप बरहाद (आजियाटा) ले पुष्टि गरेको हो ।



प्रतिक्रिया दिनुहोस !