२१ बैशाख २०८१, शुक्रबार

विदेशिएका श्रीमानको ६ वर्षदेखि एक कल फोन पनि आएन, खोजतलासमा भौतारिदै कमला

प्रकाशित मिति :  13 August, 2023 9:25 am


उमा केसी – 

रोल्पा । विदेशिएको ६ वर्ष सम्म श्रीमान सम्पर्क विहीन भएपछि श्रीमानको खोज तलास गरिदिन भन्दै श्रीमती कमला पुन सदरमुकाम लिबाङमा भौतारिएकी छिन् । 

नयाँ घर बनाएको ऋण पनि तिर्ने, हुर्कदै गरेका छोरा छोरीलाई राम्रो विद्यालय पढाउने घर सल्लाह गरेर रोल्पा नगरपालिका-८ जंकोट कुडरका सन्तवीर पुनमगर ६ वर्षअघि साउदी गएका हुन् । 

श्रीमान विदेशिएपछि नाबालक छोरा छोरीको अभिभारा पुरा गर्ने जिम्मेवारी लिएकी कमलाले दुखले घर सम्हालेर बसिन् । श्रीमानले कमाएको पैसाले नयाँ बनाएको घरको ऋण पनि तिर्ने र हुर्कदै गरेका छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिएर ठुलो मान्छे बनाउने सपनामा वुन्दै कमलाका दिन, महिना र वर्ष वित्दै गए । श्रीमान फर्किएनन् । 

सुरु सुरुमा कामको व्यस्तताले श्रीमानको फोन नआएको होला भन्ने लाग्थ्यो, एकदिन त पक्कै फोन आउला भन्ने प्रतिक्षामा रहेकाे बताइन् । जसको फोन आए पनि श्रीमानकै आयो की भनेर उठाउन पुग्थिन्, तर विदेशिएको ६ वर्ष पुरा हुदासम्म श्रीमानको एक कल फोन आएन । 

दैनिक घर व्यवहार त ज्याला मजदुरीले चलिरहेको थियो । नयाँ घर बनाउन र श्रीमान विदेश जाँदा लागेको १० लाख ऋण र त्यसको व्याज माग्ने साहुको कचकचीले उनलाई हैरान बनायो । 

कमला र छाेरी मनिका ।

सुरु सुरुमा त श्रीमानले विदेशबाट कमाएर पठाएपछि तिर्ने भनेर टारिन तर लामो समय श्रीमानले पैसा नपठाए पछि साहुहरूले पनि कस्न थाले । पछिल्लो पटक साहुले भकारोमा बाँधेर राखेको एक हलगोरु पनि उठाएर लगेपछि उनको भकारो रित्तो भएको छ । भकारो नै रित्तो हुने गरि हलगोरु फुकाउदा उनको मन निकै रोयो ।

छोरा सुदीप १२ वर्षका भई सके भने छोरी मनिका ८ वर्षकी छिन् । बुवा विदेश जाँदा मनिका २ वर्षकी थिइन् । बुवाको अनुहारसम्म उनलाई राम्रोसँग याद छैन । 

१७ वर्षको उमेरमा विवाह गरेकी कमला अहिले ३० वर्ष भईन् । उनी श्रीमान भन्दा ३ वर्ष कान्छी छिन् । एक वर्षको उमेर छदा सन्तवीरले बुवा गुमाएका थिए । बुवाको मृत्युपछि आमाले पनि दोस्रो विवाह गरिन् । सानै देखि दुःखमा हुर्केका सन्तवीरलाई कमलाले बालबिवाह गरेरै भए पनि दह्रो साथ र सहयोग दिएकी थिईन । कमलाले पढ्न लेख्न पाईनन् । 

विदेशिएर लामो समय सम्पर्कविहिन भएका श्रीमानको खोजतलास गरिदिन धेरै ठाउँमा हारगुहार गरिन आफन्त, नातेदार देखी, पत्रकार र पुलिससम्म कतै वाँकी राखेकी छैनन तर श्रीमान कहाँ कस्तो अवस्थामा छन उनलाई अहिले सम्म अत्तोपत्तो छैन । 

जसरी हुन्छ खोजतलास गरेर सम्पर्कमा ल्यादिन आग्रह गरिरहेकी छिन् । सूचना प्रविधिले विश्वलाई एउटा गाउँमा सिमित गराई  दिए पनि उनी भने यी सवै कुराबाट वञ्चित छिन्।

उनले जिताएर पठाएका प्रतिनिधि सभा सदस्य वर्षमान पुन र प्रदेश सभा सदस्य दिपेन्द्र पुन उनको गाउँ नजिकै बस्छन् । गाउँ आउछन जान्छन, ओहोर दोहोर चलिरहन्छ, सधै राजनीतिमा व्यस्त रहने ती नेताहरुलाई आफ्नो समस्या भन्ने मन पनि छ तर, सुन्छन् भन्ने विश्वास उनीमा छैन।

चामल किन्ने पैसा नभएर उनी विगत दुई महिनादेखि माईतमा गएर बसेकी छन् । श्रीमानको कारणले अहिले छोराछोरीको पढाई पनि प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस !