२५ बैशाख २०८१, मंगलबार

पर्यटन बोर्ड र एसटिएलआरपीले पाए पाटा गोल्ड अवार्ड–२०२३

प्रकाशित मिति :  25 August, 2023 3:17 pm


काठमाडाैँ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले प्यासिफिक एशिया ट्रावल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ पाएको छ।

पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एसिया ट्रावल एसोसिएसन (पाटा)ले नेपाल पर्यटन बोर्ड र एसटिएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो।

पाटा हेडक्वाटरले विज्ञप्ति जारी गर्दै यो अवार्ड प्रदान गरेको जानकारी दिएको छ। परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो।

यस्तै, २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो। सन् १९९५ बाट सुरू भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको छ।

यो पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए।

पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा। धनञ्जय रेग्मीले बताए।

बोर्डले युएनडीपीसँगको सहकार्यमा शुरु गरेको परियोजनाले लगातार दुई वर्ष यस प्रकारको अबार्ड प्राप्त गर्दा युएनडीपी खुशी रहेको प्रतिक्रिया दिँदै यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको रेग्मीले बताए ।

बोर्ड तथा एसटिएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

यसअन्तर्गत महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि ट्रेकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसँग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुयलहरू तयार गर्दै आइरहेको छ।

परियोजनाले अहिलेसम्म करिब एक हजार महीलाहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !