८ जेष्ठ २०७९, आइतबार

दाङमा लकडाउनले रोकिएका विकास निर्माणका काम सुरु हुँदै

प्रकाशित मिति :  26 April, 2020 8:00 am


दाङ, १४ वैशाख ।

सडक डिभिजन कार्यालय दाङ अन्तर्गतका चार योजनाको काम शुरु भएका छन् । लकडाउनको समयमा रोकिएका सडकका योजनामध्ये ४ वटा आयोजना सुरु भएको सूचना अधिकारी खुम भण्डारी जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ ।

त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नं १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम शुरु भएको अधिकारी भण्डारीले जानकारी दिए ।

अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूरको सहज उपलब्धता नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उनको भनाई छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउने तयारी गरेको छ ।

काम सञ्चालन गर्न वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ । सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !