२ जेष्ठ २०८१, बुधबार

टिकटकको दुरुपयोग रोक्न टिकटक कार्यालय सिंगापुरसँग गृह मन्त्रालयको छलफल

प्रकाशित मिति :  5 November, 2023 6:35 pm


काठमाडाैँ । सरकारले टिकटक दुरुपयोग रोक्न टिकटक कार्यालय,सिंगापुरसँग छलफल गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्नका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबिच छलफल भएको हो ।

छलफलपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको छ ।”

गृह मन्त्रालयले जिम्मेवार नागरिकको रुपमा कानुसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने तर्फ समेत गृह मन्त्रालयले सचेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस !