२१ बैशाख २०८१, शुक्रबार

दम्भ त्याग्नुस्, अगाडि बढ्नुस् प्रधानमन्त्री ज्यू : सांसद चौधरी

प्रकाशित मिति :  29 April, 2020 3:20 pm


हिजो र आज बजारमा प्रधानमन्त्री फेरिने भनेर अनावश्यक हल्ला भएको फेसबुक वालमा देखियो । पार्टी एकताको काम पूरा नभएको अवस्थामा बहस हुनु स्वभाबिक हो ।

अनेक अड्कलबाजी पनि हुन्छ तर म यति चाहिँ ढुक्कसँग भन्न सक्छु, अहिले न प्रधानमन्त्री फेरिन्छन् न नयाँ प्रधानमन्त्रीको लागि कोहि तयार हुनुहुन्छ ।

यसैले प्रधानमन्त्री फेरिएला कि भनेर कोहि पनि चिन्तित नबनौं । गत चुनावमा स्थिर सरकारको लागि हामिले म्यान्डेट पाएको  हो ।  ५ बर्षमा ५ प्रधानमन्त्री फेर्नको लागि होइन । अनावश्यक हल्लाले अस्थिरता सिर्जना गर्दछ ।

सरकारको कामकारबाहीमा बाधा उत्पन्न हुन सक्छ । यसैले कम्युनिष्ट पार्टीका सदस्यहरू अनावश्यक हल्लाको पछि लागेर फेसबुकको वालमा लेखेर समय बर्बाद नगरौँ ।

बरू पार्टीलाई ब्यवस्थित बनाउने बिषयमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले ध्यान दिनु पर्यो । म नै सबै हुँ अरू सबैले मैले जे जे भन्छु त्यो मान्दै जानुपर्दछ भन्ने बिचार त्याग्नु पर्यो । सबैलाई साथमै लिएर अगाडि बढनुस सफल हुने तपाईं नै हो ।

नकि नेताहरूलाई धम्क्याएर अनि लडाएर अगाडि बढन खोज्नु भयो भने सफलता प्राप्ति हुन सक्दैन । यो त असफल अनि पुरानो सिद्धान्त हो ।

कुनै बेला फुटाउ अनि राज गर भन्ने सिद्धान्त पनि कामयाबी नै थियो तर आज यो बिचार नै थोत्रीसकेकाले यसको पछि नलाग्दा नै कल्याण   होला ।

पछिल्लो अवधिमा सांसद सहितको टोलीले सांसदलाई नै अपहरण गरेको आरोप लाग्नु हाम्रो लागि शोभनीय बिषय होइन । ठिक बेठिक के हो? पछि सतहमा आउने नै भयो ।

अहिले हामी शासन ब्यवस्थाको अगुवाई गरिरहेका छौँ । सबैको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो । हामीलाई देखेर जनताहरू बिश्वस्त अनि सुरक्षित महसुस गर्नु पर्ने हो तर आज डराउने अवस्था आएको छ ।

यो राम्रो कुरो होइन । यसैगरि पछिल्लो समयमा दुई वटा अध्यायदेशको बिषयमा पनि बजारमा चर्चा छ । पहिलो दिन कसैसँग पनि छलफल नगरिकना ल्याउने अनि मसि सुक्न नपाँउदै फिर्ता लिने कुरा । यो कार्यमा पनि बिल्कुलै परिपक्वता देखिएन ।

नेता भनेको दुरदृष्टीकोण राख्ने हुनु पर्ने हो। यसमा पनि महामाहिम राष्ट्रपती र सम्माननीय प्रधानमन्त्री दुबै चुकेको देखिन्छ । म चाहन्छु,मेरो अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री लेनिन,माओत्सेतुङ, सि जिन पिङ, लि क्वान जस्तो दृष्टिकोण भएको र सँसारले नै मान्ने होस् ।

पार्टीको सर्बसम्मत नेता हुँदै राष्ट्रले नै मानोस तर दुर्भाग्य साना साना कुरामा अल्झिने अनि बदला लिने भावना, धम्क्याउने , खिसिट्युरि गर्ने, सबै मै हुँ भन्ने हठ लगायतको भावनाले कमजोर बाहेक अरू केही बनाउने होइन ।

यसैले यो बिषयमा ध्यान सम्माननीय प्रधानमन्त्रीको ध्यान जानुपर्दछ ।

अन्यथा आफू त आफू हो सिँगो कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउने कुरामा भूमिका खेलेको देखिनेछ ।

यसैले आजैदेखि सबै प्रकारका घमण्ड त्यागि रिसराग छोडि अगाडि बढ्नुस ढुक्कसँग ५ बर्ष प्रधानमन्त्री भएर सुखि नेपाली समृद्ध नेपाल निर्माणका लागि राष्ट्रको अगुवाई गर्नुस । साथमा पार्टी कार्यकर्ता अनि नेपाली जनता छँदैछन् । (दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद चौधरीको फेसबुकबाट)



प्रतिक्रिया दिनुहोस !