६ जेष्ठ २०८१, आइतबार

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

प्रकाशित मिति :  25 December, 2023 5:18 pm


काठमाडौँ । सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सय दिन सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने प्रशासनले जनाएको छ । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द हुने भएको हो ।

सुरुङ निर्माणमा संलग्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यातायात संचालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङमार्गको दुरी दोभानदेखि सिद्धबाबासम्म १ हजार १ सय २६ मिटरको रहनेछ ।



प्रतिक्रिया दिनुहोस !