१७ बैशाख २०८१, सोमबार

छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्छ: मन्त्री शर्मा

प्रकाशित मिति :  26 December, 2023 4:25 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव तथा नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो बताएकी हुन् ।

छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको औल्याउँदै उनले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मकरूपमा बढाउनुपर्ने बताइन् ।

“चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरू अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ । नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडाैँ–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरू अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ,” मन्त्री शर्माले भनिन्, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरूमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।”

चीनले यस्तै महत्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरू गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिंदै उनले यो अवधिमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रूपमा यो परियोजना स्थापित हुनु महत्वपूर्ण प्रगति भएको र यसबाट नेपालले पनि यथोचित लाभ लिन अझै मेहनत गर्नुपर्ने काम बाँकी नै रहेको बताइन् ।

“सरकार–सरकार र जनता–जनताबिचको सम्बन्धलाई थप उचाइँमा अघि बढाउन दुबै देशका मिडियाहरूको महत्वपूर्ण भूमिका छ, त्यसका लागि पनि यस्ता सम्मेलनहरू फलदायी हुनेछन्”, मन्त्री शर्माले भनिन्, “यसमा पनि सरकार–सरकार र जनता–जनताबिचको सम्बन्ध थप प्रगाढ बनाउँदै दुबै देशको पर्यटन प्रवर्धनका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा उपयुक्त सुझाव आउने अपेक्षा गरेका छौं ।”

संसारमै सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्धनमा कायापलट हुने हाम्रो विश्वास उनले विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,”नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको भए पनि आयातको अनुपातमा निर्यातको मात्र निकै न्यून छ । यसमा हामीले वस्तु उत्पादनमा वृद्धितिर ध्यान दिनुपर्ने अवस्था त छँदैछ, त्यसमा थप नेपाल र चीनबिचका थप नाकाहरू खुला गर्ने, भन्सार विन्दु सहज बनाउने र भन्सार छूट दिने लगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ ।”



प्रतिक्रिया दिनुहोस !