२० बैशाख २०८१, बिहिबार

काठमाडौँको बालाजुमा वारुण यन्त्र कार्यालय भवनको शिलान्यास

प्रकाशित मिति :  3 January, 2024 4:39 pm


काठमाडौँ । काठमाडौँको बालाजुमा औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज (बुधबार) शिलान्यास भएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नम्बर १६ का अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गरेका हुन् ।

गएको बर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थिए । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो ।

भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको थियो । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ ।

आफ्नो वडामा यसप्रकार आपतकालीन साधन उपकरण राख्ने भवन विस्तार हुनु, वडाबासीले तिरेको कर वडाकै नागरिकको सुरक्षाका लागि फिर्ता भएको महसुस गरेको छु । शिलान्यासपछि संक्षिप्त प्रतिक्रियामा वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले प्रतिक्रिया दिए ।

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ ।



प्रतिक्रिया दिनुहोस !