२५ बैशाख २०८१, मंगलबार

योजना आयोगलाई पूर्वअर्थमन्त्री पौडेलको सुझाव, ‘भौतिक र मानवीय विकासलाई केन्द्रमा राखाैँ’

प्रकाशित मिति :  8 January, 2024 8:22 am


काठमाडौँ । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औं योजना तर्जुमा गर्नुपर्ने बताएका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बौल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन्। उनले भौतिक र मानविय विकासलाई केन्द्रमा राखेर १६ औं योजना तर्जुमा नभए योजना निर्माणको काम पुरानै रुपमा चल्ने बताए।

उनले मुलुकको वर्तमान अवस्था र आवश्यकताअनुरुप १६ औं योजना तर्जुमा नभए अपेक्षा गरेअनुसारको नतिजा आउन नसक्ने उल्लेख गरे। पूर्वअर्थमन्त्री पौडेलले योजना निर्माण गर्दा स्रोत व्यवस्थापन महत्वपूर्ण पक्ष भएको भन्दै स्रोत भन्दा बाहिरको योजनाको अर्थ नहुने बताए।

उनले नेपालमा सिमित स्रोत र असिमित आवश्यकता भएकाले सोही आवश्यकताका आधारमा धेरै प्रतिफल पाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए।

उनले स्रोत व्यवस्थापन र आयोजना व्यवस्थापनबीचमा रहेको खाडललाई पूरा गर्नेगरी योजना निर्माण गरिनुपर्ने बताए। राजश्व संकलन कम भइरहेकाले सरकारले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको बताए।

उनले योजना आयोगले योजना बनाउने र हटाउने विषयको अन्त्य हुनुपर्ने उल्लेख गरे। पूर्वअर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोग योजना निर्माणको निर्णायक निकायका रुपमा स्थापित हुन नसकेको बताए।

उनले मुलुकको योजना निर्माणको निर्णायक निकाय योजना आयोग हो भन्ने किसिमले योजना तर्जुमा गर्न सुझाव दिए। उनले योजना आयोगले बनाएका योजना नै निर्णायक हुन्छ भन्ने विश्वास बढाउन नसकेको बताए।

उनले सरकारका नीति कार्यक्रम र स्रोत एकतिर र बजेट अर्कोतिर हुने गरेको बताए। पौडेलले योजना आयोगले सही ठहर्‍याएको योजना अघि बढ्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए। उनले बजेट निर्माणमा सामान्य सहभागिताको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे।

(न्युजएजेन्सी नेपाल)



प्रतिक्रिया दिनुहोस !