१६ बैशाख २०८१, आइतबार

आज माघे सङ्क्रान्तिः  घरघरमा खिचडी, घिउ, चाकु, तरूल, लड्डु खाएर मनाइँदै 

प्रकाशित मिति :  15 January, 2024 8:02 am


काठमाडौँ । आज माघे सङ्क्रान्ति नेपाली समाजले आआफ्नो संस्कार अनुसार मनाउँदै छन्। आजको दिन घरघरमा खिचडी, घिउ, तरूल, लड्डु, चाकु खाएर मनाउने प्रचलन रही आएको छ। 

माघेर सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।

आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।

आजकै दिन मकर स्नान आरम्भर गर्ने प्रचलन छ। मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभर गरिन्छ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ ।

नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ।

मधेसमा भने मैथिल र थारु समुदायहरुले आज सद्भावका साथ आज यो चाड मनाउने गर्दछन्। थारु समुदायमा आजको दिन येले दुगंका रूपमा नयाँ वर्षका रूपमा मनाइन्छ । 

आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरु भएको मानिन्छ । 



प्रतिक्रिया दिनुहोस !