६ जेष्ठ २०८१, आइतबार

रावा बैैंकमा खाता एउटाको, कारोबार अर्कैको !

प्रकाशित मिति :  21 January, 2024 10:53 am


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट खातावालालाई थाहा नदिई पैसा झिकिएको छ । गोरखा फुजेलका गिरधारी काप्रीको मुआब्जा खाताबाट खातावालालाई थाहा नदिई उनको खातामा पैसा हाल्ने र झिक्ने गरिएको हो ।

काप्रीको खाताबाट २०७५ असार १८ गतेदेखि २०८० असार ४ गतेसम्म अनाधिकृत व्यक्तिले पैसा हाल्ने र झिक्ने गरेको उनले आरोप लगाएका छन् । काप्रीले बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा लिनको लागि खाता खोलेका थिए ।

उनको खातामा मुआब्जाको पैसा राख्ने झिक्ने गरिएको देखिएको हो । काप्रीको खाताबाट विभिन्न समयमा पैसा हाल्ने र झिक्ने गरिएको छ । २०७५ असार १८ गते ९८ लाख २३ हजार रुपैयाँ गिरधारी काप्रीको खातामा रकम आएको छ । यो रकम बुढीगण्डकीको मुआब्जा भनेर आएको हो । यही रकम २०७५ असार २८ गते युवराज श्रेष्ठको नाममा निकालिएको छ ।

बैंकको कर्मचारीको गल्तीको कारण यस्तो भएको भने पनि बैंकका उच्च अधिकारी भने कर्मचारीको गल्ती भएको मान्न तयार छैनन् । बैंकका एक उच्च अधिकारीले “मानिस हो इरर भइहाल्छ, यो पनि त्यहि ह्युम्यान इरर” भएको भन्दै पन्छिन खोजे ।

बुढीगण्डकीको पैसा नाम्जुङका गिरधारी काप्रीको खातामा आएको पैसा पनि फुजेलको गिरधारी काप्रीको खातामा गएको बैंकका एक उच्च अधिकारीले बताए ।

“एउटै नाम परेर फरक परेको हो । पछि नाम्जुङका गिरधारी काप्रीको खातामा जानुपर्ने पैसा फुजेका गिरधारीको काप्रीको खातामा गएको हो । पहिला नै खाता भएको देखिएकोले फरक परेको हो, बैंकका एक अधिकारीले भने । बैंकका कर्मचारीले स्थान र खाता नम्बर नहेरी पैसा झिक्ने राख्ने गर्दा समस्या देखिएको हो । बैंकका कर्मचारीले पैसा गिरधारी काप्री एकै व्यक्ति भएको ठानेकोले समस्या भएको बैंकका ती अधिकारी बताउँछन् ।

खातावाला गिरधारी काप्रीको चेक दुई चोटी रोक्का गरेर पैसा निकालिएको छ । पटक पटक चेक रोक्का गर्ने र पैसा निकाल्ने गरिएको छ । ती उच्च अधिकारीले मानिसको इरर भइरहने र त्यो पनि ह्युमन इरर नै रहेको बताए ।

कर्मचारीले गल्ती गरेर दुई पटक चेक रोक्का पटकपटक खाताबाट पैसा निकालिनु सामान्य गल्ती होइन नि ? भनेर सोध्दा पटक पटक ह्युमन इरर भनिरहे । ती कर्मचारीले यस्तो भनेर गुनासो भएपछि नाम्जुङका गिरधारी काप्रिले निकालेको पैसा फिर्ता गर्न लगाएको बताउँछन् ।

गोरखा फुजेलका गिरधारी काप्रिको खाताबाट २०७५ असारदेखि २०७९ सम्म समय समयमा नाम्जुङका गिरधारीले पैसा निकालेको बैंक स्टेटमेन्टबाट देखिन्छ । खातावाला व्यक्तीको चेक रोक्का गरेर पटक पटक पैसा निकाल्दा पनि बैंकको व्यवस्थापन भने ह्युमन इरर भनेर बसिरहेको छ । काप्रिले यस्तो भएको बैंकका पैसा निकाल्न २०८० असारमा बैंकमा जाँदा थाहा पाएको बताउँछन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने बोट बिरुवाको १८ हजार रुपैयाँ मुआब्जा खातामा आएको र त्यसलाई निकाल्न जाँदा पैसा नभएको थाहा पाएको बताउँछन् ।

उनले भने, “१८ हजार रुपैयाँ बोट बिरुवाको मुआब्जा खातामा आएको थियो । त्यो निकाल्न जाँदा खातामा पैसा थिएन । खातामा १९ हजार १९० रुपैयाँ थियो त्यसमध्ये १८ हजार रुपैयाँ निकाल्यो । पछि पैसा निकाल्न जाँदा खातामा पैसा छैन भनेर बैंकले धम्की दियो । हामीले लगेको छैन भनेपछि प्रशासन नै बोलाएर प्रेसर दियो ।”

बैंकका उच्च अधिकारीले फुजेलका गिरधारी काप्रिले पाउनुपर्ने मुआब्जा पाइसकेको र त्यो ९८ लाख नाम्जुङका गिरधारी काप्रिको भएको बताए । उनले भने, “त्यो ९८ लाख नाम्जुङका गिरधारी काप्रि को हो । यो कुरा उहाँहरुले स्विकार पनि गर्नु भएको छ । ह्युमन इरर भइहाल्छ यो ह्युमन इरर हो ।”



प्रतिक्रिया दिनुहोस !