२४ बैशाख २०८१, सोमबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

प्रकाशित मिति :  20 February, 2024 5:29 pm


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराएकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरिन् । अत्यन्त संवेदनशील क्षेत्रको रूपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनावद्ध पहल आवश्यक रहेको बताइन् ।

मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिइन् ।

नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !