२३ बैशाख २०८१, आइतबार

लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैन: पदम गिरी

प्रकाशित मिति :  24 February, 2024 2:30 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे । उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताए ।

उनले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताए । उनले यस्ता कुराहरु अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताए । उनले सबै मानिसहरुले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताए ।

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताए । आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताए ।



प्रतिक्रिया दिनुहोस !