२४ बैशाख २०८१, सोमबार

सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा आइसकेको छैन: उपाध्यक्ष पौडेल

प्रकाशित मिति :  24 February, 2024 2:51 pm


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिन सक्ने रूपमा नआएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्‍यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए । उनले सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भए पनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए । उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।

उनले भने, “मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना सम्प्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोसिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौती दिन सक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौती दिन सक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोसिस गर्नुपर्दछ ।”

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, ई आई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैन? भन्ने प्रश्न गरे । उनले राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए । उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नु नहुने बताए । उनले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !