१८ बैशाख २०८१, मंगलबार

कोरोना परीक्षणको दायरा बढाउने प्रदेश ५ सरकारको निर्णय

प्रकाशित मिति :  6 May, 2020 2:35 pm



रुपन्देही, २४ वैशाख ।

नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण बढी देखिएपछि प्रदेश -५  सरकारले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, औषधिलगायत सामग्री उपलब्ध गराउने भएको छ ।

यसका लागि लागि प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा रहेको ‘क्राइसिस म्यानेजमेण्ट सेन्टर’को आज बसेको बैठकले नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यताका आधारमा प्रयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका शंकास्पद बिरामीको पीसीआर परीक्षणलाई जोड दिँदै बैठकले भारतबाट आउनेलाई आइसोलेशन अस्पतालमा राखी स्वाब सङ्कलनको व्यवस्था मिलाउन आग्रह गरेको छ । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएमा कोरोना विशेष अस्पतालमा लगेर उपचार गर्नसमेत जोड दिइएको छ ।

कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्न सामाजिक मन्त्रालयलाई अनुरोध गरेको छ ।

त्यस्तै नेपाल–भारत सीमा क्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री, आवासलगायतका समस्याका सम्बन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ ।

स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्य सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने जनाउँदै बैठकले विकासनिर्माणसँग सम्बन्धित कामका सामग्रीको ढुवानी व्यवस्थाका लागि समेत प्रजिअले सहजीकरण गर्ने बताएको छ ।

अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्बन्धित पालिकाभित्रका श्रमिकलाई उपयोग गर्ने, दक्ष कामदारका हकमा प्रदेशभित्रबाट उपलब्ध गराउन सकिने र त्यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने बैठकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !