आजदेखि पोखरामा राष्ट्रिय ह्वीलचियर बाँस्केटबल, १५ टिम सहभागी हुँदै

काठमाडौँ। नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको विकासशिल्ड राष्ट्रिय ह्वीलचियर बाँस्केटबल प्रतियोगिता हुने भएको छ ।
आज (आइतवार)देखि दुई दिनसम्म पोखरास्थ्ति दुई वटा स्टेमडिमयमा राष्ट्रिय स्तरको ह्वीलचियर बाँस्केटबल प्रतियोगिता हुन लागेको हो ।
सुन्दर सेवा साथी सेवाका संस्थापक विकास अधिकारीको दोस्रो स्मृति दिवसमा प्रतियोगिताको बारेमा जानकारी दिँदै विकासशील म्यानेजमेण्ट टिमकी प्रतिनिधि विजेता लुईंटेलले खेलमा महिलाबाट प्रथम दोस्रो र तेस्रो तथा पुरुषबाट पहिलो, दोस्रो र तेस्रो गरी ६ वटा टिमलाई उत्कृष्ट घोषित गरी पुरस्कार दिने बताए।
उनले प्रथम हुनेलाई ५०, दोस्रोलाई ४० र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए । विजेतालाई मेडल र ट्रफीसहित सम्मान गरिने तथा मस्ट भ्यालुएबल प्लेयर र बेस्ट स्कोररलाई पनि सम्मान गरिने भएको छ।
खेलमा १५ टिमले प्रतिष्पर्धा गर्ने र सातै प्रदेशको सहभागिता रहने भएको छ । महिलाको ६ वटा मात्रै टिम रहेको र मधेस प्रदेशबाट सहभागी नरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।
पुरुषबाट सात प्रदेशका सात टिम र दुई विभागीय नेपाल आर्मी र नेपाल सशस्त्र प्रहरी गरी १५ वटा टिमले सहभागी रहनेछन्।
शारीरिक अशक्तता भएकाहरुलाई प्रोत्साहनस्वरुप यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन्। खेलको बजेट अनुमानित ६२ लाख रहेको छ।
—न्युज एजेन्सी नेपाल