१६ बैशाख २०८१, आइतबार

चेम्बर एक्स्पोको आज अन्तिम दिन, स्टलहरुमा विभिन्न छुट र अफर

प्रकाशित मिति :  11 March, 2024 9:08 am


काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको सातौँ चरणको ‘चेम्बर एक्स्पो – २०२४’ आज सकिँदैछ ।

फागुन २४ देखि आज (सोमवार) सम्म चल्ने एक्स्पो स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरू प्रर्दशनीमा राखिएको छ। घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा छन्।

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधी विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र सँगको सहकार्यमा जारी एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल छन्।

एक्स्पोमा ‘फोकस कन्ट्री’का रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।

प्रर्दशनीमा इण्डियन चेम्बर अफ कमर्सको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत चलिरहेको छ। प्रर्दशनीमा नेपालमा रहेको बङ्गलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता छ।

बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाएका छन्। वस्तु तथा सेवामा अन्तिम दिन विभिन्न छुट तथा अफरहरुको व्यवस्था रहेको चेम्बरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !