१२ श्रावण २०८१, शनिबार

होलीमा काठमाडौँका ९० ठाउँमा ट्राफिक प्रहरीको चेकिङ, ड्रोनबाट निगरानी

प्रकाशित मिति :  23 March, 2024 4:48 pm


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।

शनिबार न्युज एजेन्सी नेपालसँग कुरा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिए ।

काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए। उनले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको जिकिर गरे ।

उनले होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए । उनले होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।

वरिष्ठ उपरीक्षक खत्रीले भने, “होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र आपराधिक घटनाहरूलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्दछु । कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !