१५ बैशाख २०८१, शनिबार

हराएका २० ओटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्धारा धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  26 March, 2024 4:20 pm


काठमाडौँ । विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ ओटा मोटरसाइकल र २ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित २ सय ८५ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षको हाल सम्म चोरीका २४ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएकाे वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए।



प्रतिक्रिया दिनुहोस !